मलाई सल्लाका रुखहरू हेर्दै तिनका सरसराहटमा हराउन मन लाग्छ। आकाशमा उड्ने बादल पछ्याउँदै हिँड्न मन लाग्छ। प्रकृतिसँग मेरो मन रमाउँछ। उसको काखमा म कहीँ नपाइने शान्ति पाउँछु।
हिमालसँग त झन् म सानैदेखि लोभिएकी थिएँ। सगरमाथाका प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले प्रयोग गर्नुभएको टेन्ट हाम्रो घरमा थियो। विपीबा (विपीप्रसाद कोइराला) लाई दिनुभएको। त्यो टेन्ट हामीले छतमा राखेका थियौं। सानामा त्यो टेन्टमा खुब खेल्थ्यौं। सानैदेखि मेरो मनमा सगरमाथाको एउटा चित्र बसेको थियो। त्यो चित्र नियाल्दै म सोच्थेँ- सगरमाथालाई एकदिन म नजिकबाट हेर्छु।
म लामो समय नेपालबाहिरै बसेँ। त्यसैले मलाई जहिले पनि आफ्नो देश कहिले हेर्न पाउँछु भन्ने लाग्थ्यो। मेरा साथीहरू, छिमेकी, विदेशी नेपालका कुना-कुना डुलेर आएका तस्बिर राख्थे। मलाई आएर आफ्नै देशबारे सुनाउँथे। त्योबेला मलाई भने ‘कहिले आफ्नो ठाउँ घुम्न जाने होला?’ भन्ने हुन्थ्यो।
यसपालि त्यो मौका जुर्यो। मेरा स्कुलका साथीहरूले प्रस्ताव राखे, ‘एभरेष्ट बेस क्याम्प जाम्।’