धनुषा बम विष्फोटः ज्यान गुमाउने इन्स्पेक्टर झलनाथ खनालको पूर्व पीएसओ

फाइल तस्बिर: बिएल

धनुषामा बम विष्फोटका कारण घाइते भएका तीनजनाको धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शुक्रबार राति बम विष्फोट हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्।

कुसाई टोलस्थित एक औषधि व्यवसायी राजेश्वर शाहको घरमा भएको बम विष्फोट भएको हो । घटनामा घरधनी राजेश्वर र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै कोखामा छर्रा लागेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन्।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो। त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो।

घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऎरले जानकारी दिए।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका दाहाल पूर्वप्रधानमन्त्री झलनाथ खनालको पीएसओ पनि थिए।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन। अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2019-12-14 10:50:34

प्रतिकृया दिनुहोस्