रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ। सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन्।
विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ। धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि ६० हजार रुपैयाँ सहयोगसमेत गरेको बताए।
राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो। दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलको भनाई रहेको छ। कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने आएको उनले बताए।
निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ। अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ। भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ। पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उनले मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको उनले जानकारी गराए। एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनको भनाई छ।
रङ्गशालामा नमूना खेलमैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएका छन्। रङ्गशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ। रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले बताए।
ंंनिर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुनसकेको छैन। आठ करोड रुपैयाँको हाराहारी बोलकबुल भएकामा हालसम्म एक करोड रुपैयाँ मात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक तीन करोड रकम सङ्कलन भएको जानकारी गराए। रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ। यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने उनले प्रष्ट पारे।