नोवेलमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु (भिडियोसहित)

सुत्केरीको मृत्युपछि नोवेल अस्पताल अगाडि प्रदर्शनका लागि भेला भएकाहरु। तस्बिर: बिएल

चिकित्सकको लापरबाहीले बारम्बार बिरामीले ज्यान गुमाउनु पर्ने विराटनगरको नोवेल शिक्षण अस्पतालमा फेरि अर्को घटना भएको छ।

इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी २९ वर्षीय जानुका श्रेष्ठको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ।शल्यक्रियामार्फत प्रसूति गराइएकी उनको मृत्युपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ। प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएकी श्रेष्ठलाई शल्यक्रिया गरेर १० बजे प्रसूति गराइएको थियो। अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेत्रृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।

पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए। ‘शल्यक्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले कुनै वास्तै गरेनन्,’ उनले भने, ‘बिहान २ बजेपछि छोरीको मृत्यु भयो ।’ सुत्केरीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए।

शव बुझ्न अस्वीकार गरेका आफन्तले शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप लगाएका छन्। बस रिजर्व गएर आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन्। साँझ प्रदर्शन झन् उग्र भएर गएको छ। नाराजुलुस गर्दै प्रसूति वार्ड तिर हुल बढेपछि त्यसलाई रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच धकेलाधकेल भएको थियो । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ । साँझ ६ बजेसम्म अस्पताल बाहिर नाराजुलुस र प्रदर्शन जारी छ।

प्रदर्शनमा उत्रिएकाले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनु पर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग अघि सारेका छन् । माग पूरा नभएसम्म शव अस्वीकार गर्ने उनीहरुको अडान छ।

आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । जानुकाकी छिमेकी शान्ति पाख्रिनले शल्यक्रिया गरिएकी सुत्केरीको अवस्था असामान्य बन्दै जाँदा पनि वास्ता नगर्नु चिकित्सकको लापरबाही रहेको बताइन्। ‘शल्यक्रिया गरेर प्रसूति गराइएकी महिलालाई वास्तै नगर्नु चिकित्सकको ठूलो लापरबाही हो,’ उनले भनिन्, ‘धेरै साह्रो भइसकेपछि मात्रै चिकित्सक आएर उपचार गरे जस्तो गरेछन्।’ पाख्रिनले शल्यक्रियापछि अत्यधिक रक्तश्राव भए पनि त्यसलाई रोक्न चिकित्सकले उपचारको कुनै विधि प्रयोग नगरेको आरोप लगाइन्।

जानुकाका श्रीमान रविन श्रेष्ठ मजदुरीका लागि भारत गएका थिए । श्रीमतीको मृत्युको खवर सुनेका उनी विराटनगर आइसकेका छन्। अस्पताल र मृतक पक्षबीच पटक–पटक भएको वार्ता भने बिना निस्कर्ष टुँगिएको छ। ‘अस्पतालले नै वार्ता गर्ने भनेर मृतक पक्षलाई बोलायो,’ पाख्रिनले भनिन्,‘दिनभर भएको वार्ता निस्कर्षमा नपुगेपछि साँझ पक्ष अस्पताल प्रशासनका सबै जना मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन बनेका छन्।’

वार्तामा मृतक पक्षबाट सहभागी भएका मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले घटनामा ठूलै लापरबाही देखिएको दाबी गरे। ‘शल्यक्रिया गरिएकी महिलालाई वास्तै नगर्नु ठूलो लापरबाही हो,’ चिकित्सकलाई उनले भने, ‘यस्तो लापरबाहीमा क्षमा दिन सक्ने अवस्था हुँदैन।’

वार्ताका क्रममा चिकित्सकले सुत्केरीको मृत्यु हुनुको कारण बताएका थिए । वार्तामा सहभागी डा. सुवेदी लगायतका चिकित्सकले शल्यक्रिया गरेपछि पाठेघर फुकेर गएको र नखुम्चिएका कारण सुत्केरीको मृत्यु भएको जानकारी दिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शल्यक्रिया गरिएकी सुत्केरीको अवस्था सामान्य नै थियो। त्यही भएर अरु शल्यक्रियातिर हामी लाग्यौं,’ चिकित्सकको भनाइ उद्रित गर्दै दाहालले भने, ‘पछि अवस्था गम्भीर बनेर गयो भनेपछि आएर हे¥र्यौ । तर अवस्था अन्तिम बनिसकेका कारण बचाउन सकिएन।’

शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको दाबी दाहालले गरे। मृतक पक्षले क्षतिपूर्ति वापत सिधै ३० लाख रुपैयाँ माग गरेका कारण वार्ता निस्कर्षमा पुग्न नसकेको अस्पतालले जनाएको छ। अस्पतालका प्रशासन प्रमुख दिपेश राईले वार्ता क्रममा नहुने घटना भएका कारण समस्याको समाधान खोज्नेतर्फ जानु पर्ने आव्हान गरेपछि मृतक पक्षधरबाट धेरै रकमको माग भएको दाबी अस्पतालले गरेको छ। मृतक पक्षबाट वार्तामा बसेकी पाख्रिनले पनि मृतकका परिवार र छोरीको स्याहार तथा रेखदेखका लागि क्षतिपूर्ति माग गरिएको बाताइन्।

प्रकाशित मिति: : 2019-12-09 14:26:25

प्रतिकृया दिनुहोस्