बारा,पर्सा र रौतहटका स्थानीय तहहरुमा व्यापक अनियमितता,कडा कारवाही गर्ने अख्तियारकाे चेतावनी

प्रतिकारत्मक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा, पर्सा र रौतहट लगायतका जिल्लाका स्थानीय तहहरुमा व्यापक अनियमितता भइरहेको जनाएको छ। अख्तियारमा पर्ने उजुरी मध्ये वारा, पर्सा, रौतहटका स्थानिय तहको उजुरी ठूलो संख्यामा परेपछि अनियमितता भएको ठहर गरेको हो।

देशभरका स्थानिय तह मध्ये बारा, पर्सा र रौतहटबाट मात्रै २५ प्रतिशतभन्दा बढी भ्रष्टाचारका उजुरीहरु आउने गरेको अख्तियार श्रोतले जानकारी दिएको छ। वीरगञ्ज महानगरपालिका लगायत बारा, पर्सा र रौतहटमा रहेका स्थानिय तहहरुले बजेट जथाभाबि खर्च गर्ने, पुँजीगत शिर्षकबाट बजेट रकमान्तर गर्ने लगायतका धेरै अनियमित काम गर्ने गरेको भेटिएपछि अनियमित ढंगले काम गर्ने स्थानिय तहलाई अब नछाडिने चेतावनी अख्तियारले दिएको छ।

 बारा र पर्सामा कानूनमा तोकिएको भन्दा बढी रकमान्तर गर्ने गरेको देखिएका कारण संविधाको धारा ५९ को उपधारा (३), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार बजेट खर्चमा ध्यान दिन स्थानिय तहलाई निर्देशन दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

बजेट जथाभावी खर्च गरी सरकारी रकम दुरुपयोग गर्नेलाई अख्तियारले नछाडने समेत कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-04 09:00:16

प्रतिकृया दिनुहोस्