सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ। दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करीब पाँचदेखि सात दिनसम्म खेल खेलिने छ।
डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो। कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ प्रकारसम्म भुवाँखेल खेलिन्छ। सैनिकले तालीमस्वरुप पनि यो खेल खेल्ने गर्छन्। युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला पनि उक्त नाचमा देखाइने गरेको स्थानीयवासी तथा नेपाली काङ्ग्रेसका नेता विजय खड्काले बताए। “पुरानो युद्धकला जगेर्ना गर्ने उद्देश्यले यो नाच खेलिन्छ”, उनले भने, “युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक नै अर्कै हुन्छ।”
हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिएर पङ्क्तिबद्ध तरिकाले यो खेल खेल्ने गर्छन्। विजयादशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल शुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र उक्त खेलको शुरुआत गर्ने गर्छन्।
भुँवाखेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ। दिनमा नाङ्गो तरबारले भुँवा खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा प्राचीन राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको छ। नाच अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौँडामा समेत यो खेल देखाई छैटौँ दिनमा कालढुङ्गामा नै गएर विसर्जन हुने गरेको छ।
यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो। यसमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समाती नाच्दानाच्दै एकार्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्छन्। भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन।
यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले पोख्तलाई मात्रै खेल्न दिने नियम छ। डोटीमा हुने भाँवा नाच हेर्न छिमेकी डडेल्धुराका बासिन्दा पनि आउने गर्छन्। जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न आउने भएकाले उक्त खेल झन् रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन्।