मेसीकाे कीर्तिमान: छैटौं पटक बालोन डी'ओर अवार्ड पोल्टामा

तस्बिरः एजेन्सी

विश्व फुटबलकै प्रतिष्ठित अवार्ड बालोन डी'ओर अवार्ड बार्सिलोनाका फरवार्ड लियोनल मेसीले कीर्तिमानी छैटौं पटक  जितेका छन्। मेसी ६ पटक बालोन डी'ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन्।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले जितेका हुन् ।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी'ओर जितेका हुन्। ३२ वर्षका मेसीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन्। मेसीले गएको सिजन (२०१८–२०१९) मा क्लब र राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए। गएको सिजन मेसीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए।

खेलाडी, प्रशिक्षक तथा पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जिल भान डिजेक दोस्रो स्थानमा रहे।

युरोपियन वर्ष खेलाडीको उपाधि जितेका भर्जिललाई यो पटक बालोन डी’ओरका दाबेदार मानिएको थियो । तर अवार्ड फेरि मेस्सीले नै जितेका हुन्। पाँच पटकका विजेता युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।

मतदानमा चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन्।

सन् २००७ मा ब्राजिलियन काकाले अवराड जितेपछि पछिल्लो ११ बर्षभित्र मेसीले ६ पटक र रोनाल्डोले ५ पटक अवार्ड जितेका थिए।

तर गत बर्ष क्रोएसियाका लुका मोड्रिचले यो अवार्ड जितेका थिए। उनले १० वर्षदेखिको मेसी–रोनाल्डोको एकाधिकार तोडेका थिए । उक्त समारोहमा रोनाल्डो र मेसी अनुपस्थित रहेका थिए।

मेस्सीले अवार्ड जितेपछि भनेका छन् , ‘आज मैले छैटौँ बालोन डी’ओर जितेँ। यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु।’

मेसीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए। मेसीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।

 

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते।

युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले कोपा ट्रफी जिते। यो ट्रफी २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने गरिएको छ। उनलाई बालोन डी’ओरका पूर्व विजेताहरुले चयन गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-12-03 06:34:15

प्रतिकृया दिनुहोस्