जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष

बिएल

जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ। थुनुवालाई घाउ चोटपटक लाग्दा तत्काल ब्यान्डेज गर्ने, सुई लगाउने, ब्लड प्रेसर जाँच लगायत सामान्य खालका नियमित स्वास्थ्य परीक्षणका लागि प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो।

सोमबार एक कार्यक्रमका बीच उक्त उपचार कक्षको नगर प्रमुख विजय कुमार सरावगीले सोमबार उद्घाटन गरेका छन्। केन्द्र स्थापनाका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा समुदाय प्रहरी साझेदारी, प्रभु हस्पिटल र माट्रिका आई फाउन्डेशनबीच सहकार्य गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

सीसीटीभी क्यामेरा कन्ट्रोल रुमसँगै स्थापना गरिएकोे सो कक्षमा घाउ चोटपटक लाग्दा रगत बग्न रोक्न, तत्काल व्यान्डेज गर्ने, घाउको ड्रेसिङ, टिटीको सुई लगाउने, ब्लड प्रेसर जाँच जस्ता सामान्य उपचार तथा अहेब स्तरका उचित परामर्शका लागी प्राथमिक उपचार कक्षमा अ.हे.ब ज्ञानप्रकाश यादव बिहान १० बजेदेखि ५ बजेसम्म ड्युटीमा रहनेछन्।

सामान्य चेकजाँचका लागि समेत थुनुवालाई चार जना प्रहरी कर्मचारी साथमा लगाएर नारायणी अस्पताल लैजानुपर्ने र सर्बसाधरणको भीड लागेको ठाउँमा टिकट काटेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास सरोकारवालाको छ ।


प्रभु हस्पिटलका सञ्चालक डा। मनोज गुप्ताले सामान्य चेकजाँचसँगै स्वास्थ्य सम्बन्धी आवश्यक सर–सल्लाह केन्द्रबाट प्रदान हुने बताए ।

हिरासतका थुनुवा र प्रहरी कर्मचारीले समेत केन्द्रबाट लाभ लिन सक्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । सामान्य उपचारका लागि थुनुवा र प्रहरी कर्मचारीलाई बाहिर जानु नपरोस भन्ने उद्देश्यले सो उपचार कक्षको स्थापना गरिएको पर्साका एसपि राठौरले बताए ।

प्रकाशित मिति: : 2019-12-02 17:03:03

प्रतिकृया दिनुहोस्