स्टार खेलाडीले भरिपूर्ण सिना मादेनको परिवार (भिडियो अन्तर्वार्तासहित)

तस्बिरः बिएल नेपाली सेवा

धरानकी सिना लिम्बु मादेनले महिला २३ वर्षमुनि पुम्सेतर्फ नेपाललाई स्वर्ण दिलाएकी छिन्। दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पल्ट समावेश गरिएको तेक्वान्दोको पुम्सेतर्फ देशलाई स्वर्ण दिलाउने उनी पनि पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन्।

सिनाको परिवार स्टार खेलाडीले भरिपूर्ण छ। उनको बुवा पनि तेक्वान्दोका पूर्व खेलाडी हुन्। दिदी रितु लिम्बु मादेन पनि पुम्सेकी राष्ट्रिय च्याम्पियन हुन्। उनले धनगढीमा भएको छैटौं बृहत राष्ट्रिय खेलकुदमा पुम्सेतर्फ स्वर्ण जितेकी थिइन।

रितु र सिना दुबै पुम्सेका पहिलो ब्याज हुन्। रितु नेपाली फुटबलका पूर्वस्टार स्ट्राइकर जुमनु राईसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन। बच्चा जन्मिएपछि रितुले खेल्न छोडेकी थिइन।

सोमबार सातदोबाटोस्थित तेक्वान्दो हलमा बहिनीको सफलतापछि दंग परेकी रितुले बिएल नेपाली सेवासँग भनिन्, ‘मैले गर्न नसकेको बहिनीले गरेर देखाई। म निकै खुसी छु।’

पूर्व स्टार जुमनु राईले पनि सालीको सफलतामा आफू औधि खुसी भएको बताए। ‘मिहिनेतको फल पाएको छ। उसको करिअर राम्रो छ,’ जुमनुले भने।

स्वर्ण जितेपछि सिनाले पदक सम्पूर्ण नेपालीमा समर्पण गर्न चाहेको बताइन्। सिनाले पुम्सेतर्फ ८ दशमलव १ सय ५० अंक प्राप्त गर्दै स्वर्ण जितिन्। यो स्पर्धामा भारतकी रुपा बायोर ८ दशमलव १ सय ३० अंकका साथ रजत जित्न सफल भइन्। श्रीलंकाकी इसुरीले ७ दशमलव ९ सय ३० अंकका साथ कास्य जितिन्।

प्रकाशित मिति: : 2019-12-02 13:51:13

प्रतिकृया दिनुहोस्