ब्याडमिन्टन: मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ को सोझो सेटले पराजित गरे। प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका नैदुप दोर्जे २१-१३, २१-१४ सोझो सेटमा सहज जित निकाले।

त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१-१२, २१- ५ को सेटमा पराजित गरेपछि नेपाल मेन्स टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो।

महिलातर्फ टिम इभेन्टमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ को सेटमा पराजित गरिन्। त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८-२६ र २१-१९ को सेटमा पराजित गरिन्।

 अर्को खेलमा जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २-० को सोझो जीत निकालेकी छिन्। उनले पहिलो २१-१८ र दोस्रोमा २२-२० अंकले जित निकालिन ।

प्रकाशित मिति: : 2019-12-01 14:12:27

प्रतिकृया दिनुहोस्