माल्दिभ्सविरुद्ध नेपालको तेस्रो जित

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल ए टिमले सहज जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुवास खकुरेल र सुनील धमलाले अर्धशतकीय साझेदारी गरेपछि नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको हो।

माल्दिभ्सले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।

नेपालको लागि धमलाले सर्वाधिक ४१ रन तथा खकुरेलले ३६ रन बनाए। यस्तै ओपनर रित गौतमले २४ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।

उसमा अहमद हसनले ३९ बलमा २ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए। ओपनर एडम उमर शून्य र मोहम्मद इमान अलीले १० रन जोडे। मोहम्मद रिजवान १२ रनमा आउट हुँदा हसन इबराम १७ रनमा नट आउट रहे।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका तिलक राज भण्डारीले ३ विकेट लिए। यस्तै बिक्रम सोबले २ तथा राहुल प्रताप सिंह, शेर मल्ल र आकास चन्दले समान १र१ विकेट हात पारे।

यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४९ रनले पराजित गरेको नेपालले शुक्रबार भएको दोस्रो खेलमा १ सय ७ रनको जित निकालेको थियो।

माल्दिभ्सविरुद्ध नेपालको ए टिममा साग टिम बाहिर रहेका खेलाडी रहेका छन्।

प्रकाशित मिति: : 2019-11-30 17:19:18

प्रतिकृया दिनुहोस्