एम्बुलेन्स चालक कुट्ने फार्मेसी सञ्चालक पक्राउ

बिएल

एम्बुलेन्सका चालकलाई कुटपिट गर्ने फार्मेसी सञ्चालकलाई विराटनगरबाट प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल अगाडि रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक सिरहाको धनगढी नगरपालिका–७ घर भएका २१ वर्षीय रविन्द्र महतोलाई पक्राउ गरिएको हो। बिरामी फार्मेसीमा पठाउन गरेको आग्रहलाई अस्वीकार गरेको भन्दै को १ च ६४५४ नम्बरको एम्बुलेन्सका चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का ५२ वर्षीय रामकुमार राईमाथि महतोले कुटपिट गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए।

कुटपिटबाट घाइते चालकको दायाँ आँखा र ढाडमा चोट लागेको छ । उनको विराटनगर अस्पतालमै उपचार भइरहेको छ। उक्त फार्मेसी दुई साता अघि मात्रै सञ्चालनमा आएको हो। कुटपिटबाट घाइते भएका चालक राई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको सिरहाका अढाई वर्षीय बालक आशिष यादवलाई थप उपचारका लागि पूर्णबहादुर स्मृति प्रतिष्ठानको एम्बुलेन्समा लिएर विराटनगर आएका हुन्।

निमोनियाले सिकिस्त भएका कारण उपचार ठीक नहुने भन्दै प्रतिष्ठानले रेफर गरिदिएपछि बालकलाई सुरुमा बूढीगंगाको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा लगिएको राईले बताए। एनआईसीयू खाली नभएका कारण त्यहाँबाट ग्रीनक्रस अस्पताल हुँदै भेन्टिलेटरमा राख्नु पर्ने भएपछि विराटनगर अस्पताल ल्याइएको उनको भनाइ छ। ‘भेन्टिलेटरमा राख्नु पर्ने भएपछि ग्रीनक्रसबाट विराटनगर अस्पताल ल्याइयो,’ राईले भने, ‘तर अस्पताल भित्र छिर्न नपाउँदै एम्बुलेन्सलाई बाहिरै फार्मेसी सञ्चालकले घेरिहाले।’

बिरामीका आफन्तलाई आफ्नो फार्मेसीबाट औषधि किन्ने वातावरण बनाइदिन आफूलाई आग्रह गर्दै एम्बुलेन्स अगाडि नै बढ्न नदिने गरी छेकेपछि विवाद भएको उनको भनाइ छ। त्यही विवादका क्रममा फार्मेसी सञ्चालक महतोले कुटपिट गरेको राईले बताए। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका बालकको पनि केही बेरमै मृत्यु भयो।

डीएसपी गौतमले एम्बुलेन्स चालक कुट्ने फार्मेसी सञ्चालकमाथि कारबाही अघि बढाउन अनुसन्धान भइरहेको जानकारी दिए। महतो पक्राउ परेपछि उनले सञ्चालन गरेको फार्मेसी भने बन्द छ।

 

 

 

प्रकाशित मिति: : 2019-11-30 16:07:31

प्रतिकृया दिनुहोस्