सरकारले ३ दिनमा देशको नक्सा छाप्न नसके कांग्रेस छाप्छ: प्रवक्ता शर्मा

फाइल तस्बिर

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको बताएका छन्।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि उनले उक्त कुरा बताएका हुन्।

सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले सबै दलले पटक-पटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको बताए।

उनले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिए।

सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताए।

७ मंसिरमा कास्की क्षेत्रनम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए। देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ। सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ।

प्रकाशित मिति: : 2019-11-25 13:27:33

प्रतिकृया दिनुहोस्