कीर्तिपुण्य महाविहारको उद्घाटन

तस्बिरः एजेन्सी

भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ।

वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ।

यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरे। यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो।

ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माण कार्य सम्पन्न भएको हो। यस विहारको लागत रु ५० लाख रहेको छ।

प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताए। कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको छ भन्दै उनले पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाएको बताए।

कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताए।(रासस)

प्रकाशित मिति: : 2019-11-24 11:40:24

प्रतिकृया दिनुहोस्