सिरी ए: रोनाल्डो बिना नै युभेन्ट्सकाे जित

तस्बिरः एजेन्सी

इटालियन सिरी ए मा युभेन्ट्सले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना नै जित हात पारेको छ।

शनिबार भएको खेलमा युभेन्ट्सले एट्लान्टा उसैको मैदानमा १–३ गोल अन्तरले हराउदै जित हात पारेको हो।

युभेन्ट्सको जितमा गोन्जालो हिगुईनले दुई तथा  पाउल डिबालाले एक गाेल गरे। यता एट्लान्टाका लागि एक मात्रै गोल रोबिन गोसेन्सले गरे।

खेलमा अग्रता भने घरेलु टोली एट्लान्टाले लिएको थियो। उसले ५६ औं मिनेटमा गोसेन्सको गोल मार्फत अग्रता लिएको हो।

तर खेलको ७४ औं मिनेटमा युभेन्ट्सका हाइगुएनले खेल बराबरीमा ल्याए। त्यस्तै खेलको ८२ औं मिनेटमा हाइगुएनले नै युभेन्ट्सकाे अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई १-३ को जित दिलाए।

जितसँगै युभेन्ट्स १३ खेलबाट ३५ अंक जोडेको छ। ऊ शीर्ष स्थानमा छ। युभेन्ट्स दोस्रो स्थानको इन्टर भन्दा ४ अंकले अघि रहेको छ।

एट्लान्टाले १३ खेलबाट २२ अंक जोडेको छ। एट्लान्टा लिगको पाँचौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-23 21:40:36

प्रतिकृया दिनुहोस्