गढीमाई मन्दिरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्छौं: मन्त्री भट्टराई

बिएल

संस्कृति पर्यटन तथा नागरिक उडयानमन्त्री योगेश भट्टराईले गढीमाई मन्दिरलाई पर्यटकिय तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्न सरकारको योजना रहेको बताएका छन् ।

वाराको महागढीमाई नगरपालिकामा शुरु भएको पञ्चवर्षिय गढीमाई मेलाको स्थलगत अवलोकनपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भट्टराईले रामजानकी मन्दिर, सिम्रौनगढ र गढीमाईलाई धार्मिक सरकिटको रुपमा विकास गर्नका लागि गुरु योजना चाडै नै तयार हुने जानकारी गराए।

उनले गढीमाई मेलाको विकासका बारेमा तीनै तहका सरकार एक जुट भएर लाग्नु पर्ने बताए ।उनले पञ्चवर्षिय गढीमाई मेलाले धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउने हुँदा मेलालाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने कुरामा जोड दिए। 

 पर्यटन बर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना हुन गईरहेको गढीमाई पञ्चवर्षिय मेलामा लाखौं भारतीय नागरिक दर्शनका लागि आउने हुँदा उनीहरुको आगमनलाई सहज बनाउन सम्बन्धित निकाय जुटनु पर्ने उनले बताए। 'गर्मीको समयमा हिमाल, पहाड र जाडोको मौसममा तराईमा बिदेशी पाहुनाहरु नेपालमा आउने गर्दछ' उनले भने।

गढीमाई, सिम्रौनगढ, छिनमस्ता, जानकी मन्दिर जस्ता धेरै ठाउँ तराइमै रहेकाले हरेक सिजनमा पर्यटक भित्राउन योजना प्रशस्त रहेको उनले बताए। पर्यटनका लागि केन्द्र सरकारले पर्यटकिय सम्भावना बोकेका ठाउँको बाटो, घाटो र राम्रो होटेल बनाउनमा जोड् दिदै आएको बताए।

देश विदेशबाट आउने पर्यटकहरुको सुविधाका लागि गढीमाई मन्दिरमा करिब ३ दिन सम्म बस्ने अवास गृह, सुलभ शौचालय, शुद्ध खानेपानीको समेत उचित प्रवन्ध मिलाउने उनले प्रतिवद्धता समेत व्यक्त गरे।

पर्यटकिय केन्द्रहरुलाई जोड्न मास्टर प्लान अनुसार गढीमाइ,सिम्रौनगढ हुँदै जानकी मन्दिर जाने योजना सरकारले बनाएको खुलासा गरे। 'पर्यटन आएपछि कम्तीमा एकदिन बस्ने खालका योजना बनाएपछि क्रमबद्ध सबै तीरको विकास हुन्छ', उनले भने 'यताको व्यवसाय चल्छ, रोजगारी चल्छ त्यसैले सर्किट प्लान बनाउनु पर्छ।'

मन्त्री भट्टराईले भने'गढीमाईको मेला संचालन गर्न, केन्द्र सरकारले आवश्यक सहयोग गर्छ, बिस्तारै काम हुन्छ, यो सबै मास्टर प्लानमा पर्नेछ, खानेपानी, शौचालय, सरसफाई लगायतको कुरामा केन्द्र सरकारले आवश्यक पहल गर्नेछ।'

गढीमाईको मेलामा कुन मोडेलमा जाने बृहत छलफल गरीअगाडी बढ्ने उनले बताए । बली प्रथालाई निरुत्साहित गर्न पशु संरक्षण निकाय, विदेशी संस्थासँग समन्वयन गरेर अदालतले गरेको फैसलालाई कदर गरि अगाडी जाने उनले बताए। यसअघि आजै मन्त्री भट्टराईले ऐतिहासिक घरोहरको रुपमा रहेको सिम्रौनगढको समेत स्थलगत अवलोकन गरेका थिए।

 

प्रकाशित मिति: : 2019-11-18 18:01:22

प्रतिकृया दिनुहोस्