च्याम्पियन्स लिग: सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ ।

मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

४३औं मिनेटमा जेससले पेनाल्टीमा गोल गर्न सकेनन् । बक्सबाहिर प्राप्त फ्रिकिकमा एटलान्टाका खेलाडीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टीको मौका दिएको थियो । तर, जेसस पेनाल्टी प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

दोस्रो हाफको शुरुमै घरेलु टोलीले मारियो पासालिकले बराबरी गोल फर्काए । ८१औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका परिवर्तित गोलरक्षक क्लाउडियो ब्राभोले जोसिप इलिसिसलाई फल गरेपछि रेफ्रीले ब्राभोलाई रातो कार्ड दिएका थिए ।

बराबरीसँगै सिटी समूह ‘सी’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । शाख्तर डोनेस्क र डाइनामो जाग्रिवको समान ५ अंक छ । एटलान्टाले पहिलो अंक जोडेको छ । यही समूहमा साख्तर र डाइनामोले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रकाशित मिति: : 2019-11-07 08:35:57

प्रतिकृया दिनुहोस्