मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।
बाबु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यरत थिए ।
विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए ।