राष्ट्र बैंकले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति बनायो

फाइल तस्बिर:बिएल

सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न निर्देशन दिएपछि सोमबार बसेको राष्ट्र बैंक संचालक समितिले तीन सदस्यीय छानबिन समिति बनाएको छ।

लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि छानबिन हुन लागेको हो ।

राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा संचालक रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहने गरी छानबिन समिति बनाएको छ।

आइतबारको बैठकमा बोर्ड अध्यक्षसमेत रहेका गभर्नर चिरञ्जीवी नेपालले डेपुटी गभर्नर श्रेष्ठको विषयमा छलफल गर्न प्रस्ताव गरेका थिए । पछि डा.खनालले सो विषयमा पत्र प्रस्तुत नगरेपछि छलफल हुन नसकेको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।

छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथि लागेको आरोपलगायतका बारेमा प्रतिवेदन दिने छ। समितिले श्रेष्ठलाई दोषी देखाएमा एक पटक स्पष्टीकरणको मौका दिइने छ। चित्तबुझ्दो स्पष्टीकरण नआए सरकारले उनलाई बर्खास्त गर्ने छ।

प्रकाशित मिति: : 2019-11-04 11:03:23

प्रतिकृया दिनुहोस्