महराको थुनछेक बहस आज पनि हुँदै

फाइल तस्बिर:बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी कसुरमा सोमबार पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले सोमबार पनि निरन्तर हुने भएको हो ।

महराका तर्फबाट बहस गर्न ३२ जना अधिवक्ताले नाम लेखाएकाले सबैले बहश गरे सोमबार पनि बहश नसकिने सम्भावना छ । बहस सकिएपछि महरालाई पूर्पक्षका लागि थुनामा राख्ने वा कारागार पठाउने भन्नेबारे अदालतले फैसला गर्नेछ ।

तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । सरकारी पक्षबाट भने चार जनाले बहस गरेका थिए ।

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो ।

पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यलयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्युनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।

 

प्रकाशित मिति: : 2019-11-04 10:48:20

प्रतिकृया दिनुहोस्