हिजोआज बाटो दोबाटोमा, चिया चौतारोमा, देशबारे चिन्तन गरिरहने, वर्तमान राजनीतिक व्यवस्था र शासकीय दृष्टिमाथि आलोचनात्मक चिन्तन राखिरहने। कर्णाली प्रदेशको विकासबारेको फरक दृष्टिकोण र चिन्तन गरिरहने अधबैंसे, गहुँगोरो वर्णको, औसत उचाइको मान्छे जुम्लामा देखिन छोडेको महिना दिन बेसी भयो। हुन त गएको चैत, वैशाखदेखि उनको उपस्थिति पातलिएको हो । तर यो पाली अलि लामै भयो । किनभने यी मान्छे अहिले काठमाडौंमा छन् र धेरैजसो लेखक, पत्रकारको ध्यान खिचिरहेका छन्। ग्राहक बनाइरहेका छन् । त्यसैले उनको नाम र फोटोले फेसबुकका भित्ता रंगिएका छन्। उनी हुन्- रामसिंह रावल ।
उनी धेरैले सम्झने विद्यार्थी नेता पनि हुन् । साढे एक दशक अघिसम्म राजनीतिबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने सपना देख्थे उनी । राजनीति यति टेढो हुनसक्छ भन्ने कुराको मेसो नपाएर नै होला सायद, धेरै समय उनले यसैमा खर्च गरे । जबकि, किसान बाबुले काठमाडौमा पैसा पठाउनेबेला सम्झाउँथे, 'यो च्योइट्या राजनीति गरि क्यार्न्या छै ? यत्रो पाखो छ, स्याउ लगा । हामी जैथा किसान धुनी (धनी) भयौं भन्या देश आफै धुनी हुन्छ ।'
काठमाडौबाट विद्यार्थी राजनीति गर्ने हो र मैले चाहेको समाज गाउँ बनाउने हो, उनलाई धेरै समयसम्म यही भ्रमले छोपिरह्यो । बाबुले पैसासँगै पठाउने मन्त्रले छुन सकेन । युवाको आर्थिक उन्नती बिना देश अथवा गाउँ बदल्ने सपना बेकार हुन भन्ने कुरा सम्झिन मलाई लगभग एक दशक लाग्यो। समाजसेवाको माध्यमले गैरराजनीतिक तवरबाट स्थापना भएको कर्णाली विद्यार्थी हित समितिमा (कविहिस) मा जब राजनीतिक कुदृष्टि लाग्न थाल्यो तब रामसिंहलाई लाग्यो, 'बाले भनेको जस्तै राजनीतिबाट देश परिवर्तन गर्छु भन्ने युवाको आर्थिक उन्नति नभै हामीले भन्ने गरेको उन्नत समाज बन्ने सक्दैन रहेछ।'
कविहिसमा उनीहरुको जुन प्रभाव थियो, त्यसलाई मुक्त गर्न केही खराब नियत भएका नेता हात धोएर लागे । गुण्डा परिचालन गर्नेदेखि उनको साथमा हुने साथीमाथि हातपात गर्ने र संगठन फुटाउने जस्तो काम गर्न थालेपछि उनले कविहिस त्यागे । आज काठमाडौंमा कर्णालीको खास समस्यालाई मुलधारको मुद्दा बनाउने संगठन छैन ।
जुम्ला सिंजाको गोरा गाउँमा जन्मिएका रावलले अर्थशास्त्रमा स्नातक गरेपछि आफ्नो बाटो परिवर्तन गरे ।
समग्र देशको राजनीतिदेखि कर्णालीको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लेखनको माध्यमबाट खरो उपस्थिति जनाइरहेका छन् । अन्नपूर्ण पोष्टलगायत थुप्रै मुलधारका सञ्चार माध्यममा विगत डेढ दशकदेखि कलम चलाइरहेका उनी यतिबेला देशसञ्चारमा स्तम्भ लेख्छन् ।
त्यही बीचमा थालेको लेखन कर्मलाई भने निरन्तरता दिइरहे। औपचारिक संगठन नभए पनि, लेखनबाट कर्णालीलाई मूलधारमा ल्याउने काममा रावल कहिले चुकेनन् ।
विविध विषयमा कलम चलाएका लेखक तथा किसान रामसिंह रावलको लेखहरुको संग्रह 'सिन्डिकेट, लोकतन्त्र र राजनीति' प्रकाशित छ।
सोही किताबमा भएको 'जुम्ली छोरो नहोस्, हुम्लीको भेडो नहोस्' शिर्षकको लेख अन्नपूर्णमा छापिएको बेला अमेरिकामा इन्जिनियर पढ्दै गरेका दीपेन्द्र गौतमले पढेका थिए। अहिले यति बेला उनले रावल काठमाडौं स्याउ बेच्न आएको थाहा पाएपछि तीन घन्टा कुरेर दुई कार्टुन स्याउ किने।
लेखमा उनले समाजशास्त्रीय चिन्तन प्रस्तुत गर्नुका साथै बस्ती विकासबारे अब्बल विश्लेषण गरेका थिए। इन्जिनियर गौतमले हुम्लाको परम्परागत बस्ती विकासको अध्ययन गर्न सहयोगका लागि पनि अनुरोध गरेको रावलले बिएल नेपाली सेवालाई बताए।
यो स्याउको सिजन हो । त्यसैले तपाई वरिष्ठ लेखक कनकमणि दीक्षितको फेसबुकको ट्यागलाइन देख्नु हुनेछ- 'तिहार, अर्गानिक जुम्ली स्याउ निर्धक्क प्रसार कार्यक्रम, ब्रान्डः मन एप्पल, धुनै नपर्ने, गाउँस् गोरा, सिंजा, भाउः रु १५० प्रतिकेजी, कार्टुन डेलिभरी घरैमा।'
यिनै हुन्- रामसिंह रावल ।
जुम्लाको गोरामा आफ्नै बगैचामा उत्पादन गरेको अर्गानिक स्याउ काठमाडौंमा बेच्न र बजारीकरण गर्न व्यस्त उनी समग्र कर्णालीमा गनिने बौद्धिक व्यक्तित्व तथा समाजसेवी हुन् । लेखनमा जमेका उनले जुम्लामा 'मन स्याउ' उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरेका छन् । उनको व्यवस्थित बगैचामा स्याउ, ओखर र आरुका गरि एक हजार विरुवा छन् । १० वर्षअघि सुरू गरिएको बगैचामा गत वर्षदेखि आंशिक रुपमा स्याउ फल्न सुरु गरेको छ । ओखर ठूला हुँदैछन् र आरु फलिरहेका छन् । स्याउ काठमाडौं पुगेका छन् ।
रावलको पारिवारिक पृष्ठभूमि घुम्ती-व्यापारसँग जोडिएको छ ।
उनीसँग खच्चडमा सामान ढुवानी गर्ने, गलैचा बिक्री गर्नेजस्ता अनुभव छन् । कुनै बेला कर्णालीमा ढुवानीको प्रमुख साधन खच्चड थियो । कर्णालीका कतिपय ठाउँको व्यापार अहिलेपनि खच्चडले नै धानिरहेको छ । २०४९ सालदेखि उनको परिवारले डोल्पा, मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोटलगायत ठाउँमा खच्चडबाट ढुवानी व्यवसाय गरेको बेला उनी पनि खच्चडको पुच्छर समाइरहेकै हुन्थे । त्यही अनुभव नै उनको जीवनको महत्वपूर्ण क्षण हो ।
देशका काठमाडौं, पोखरालगायत मुख्य सहरका गल्ली र गल्छेडामा गलैचा बेच्न हिडेकाले उनका लागि ती ठाउँअपरिचित छैनन् । काँधमा गलैचा बोकेर शारीरिक श्रम खेर फाल्दा बदलामा मोटो रकम जम्मा त हुन्थ्यो तर कर्णालीका डाँडापाखा र खेत खलियान बुच्चै हुन्थे। त्यहाँ सम्भाव्यताको कुनै खोजी भएन ।
काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन, वीरगन्ज, विराटनगरलगायत देशका ठूला सहरमा व्यवस्थित ढंगले स्याउको बजारीकरण गर्न लाग्ने हो भने जुम्लाका किसानलाई स्याउले नयाँ सपना बुन्न सिकाउने उनको विचार छ । त्यसैले उनी स्याउलाई घुम्ती व्यापारको विकल्पको रुपमा लिन्छन् । 'खच्चड र गलैचाको व्यापार परम्परालाई कर्णालीका दाजुभाइले त्यागेर आफ्नै पाखाबारीमा सुन फलाउन थाल्नुपर्छ' हालको आफ्नै अुनुभवलाई सुनाउँदै भन्छन्, 'खच्चडको पछिपछि दौडिने, काँधमा गलैचा बोकेर हिंड्ने व्यवसाय त्यागेर आफ्नै स्याउको बजारीकरण गर्न भ्यान रिजर्भ गरेर काठमाडौैंमा होम डेलिभरी गर्दा जुन आनन्द र इज्जत पाएको छु, त्यस्तो पहिला कहिले भएन।'
सुखसयल र यश, आरामभन्दा मेहेनतलाई प्राथमिकता दिने परिवारमा जन्मेका उनी सानैदेखि मेहेनेती हुन् । पछि, उनी काठमाडौं पढ्न गए । त्यही उनले समाजसेवामा हात हाले । पारिवारिक पृष्ठभूमि व्यापारिक भएपनि समाजसेवामा उनको परिवारको योगदान कम छैन । सिंजा गोरा गाउँमा उनका बुबा मन रावलले स्कुल बनाउन जग्गासमेत दान गरेका छन् ।
इमान्दारिताका साथ सँधै प्रभावकारी भूमिका निर्वाह गरिरहेका लेखक रावल यतिबेला अर्गानिक अभियानलाई प्रभावकारी बनाइरहेका छन् ।
यो वर्ष उनकै नेतृत्वमा जुम्ला सिंजा गाउँपालिकाको गोरा गाउँमा प्रांगारिक मल उत्पादनका लागि एक सयभन्दा बढी मल खाडल खनिएका छन् । रैथाने लोपोन्मुख बालीहरु चिनो, कागुनो, फापरको १०० रोपनीमा खेती भएको छ भने विशेषज्ञ लगेर उनले चारपटक गोरा गाउँका किसानलाई विषादीरहित जैविक उत्पादनको महत्व र आवश्यकताका बारेमा तालिमकै आयोजना गरेका छन् ।
कर्णाली प्रदेश सरकारले समग्र प्रदेश अर्गानिक बनाउने अभियान थालेको छ भने जुम्ला पहिल्यै अर्गानिक जिल्ला भनेर घोषणा भैसकेको छ । तर, किसानमा सचेतताको अभावले धान खेतीमा व्यूटाकलर समस्या भएझैँ स्याउ खेतीमा पनि विषादी प्रयोग नहोस् भनेर बेलैमा सचेत बनाउन आवश्यकता छ । रावल अहिले त्यही सचेतना बाँढिरहेका छन् ।
जुम्लाको स्याउ उत्पादन तथा प्रशोधन उद्योगमा केन्द्रित हुने सोंचका साथ स्थापना भएको मन स्याउ उत्पादन तथा प्रशोधन उद्योगका उद्यमी रावलले आफ्नो बगैचा निर्माणका साथै सिंजा क्षेत्रका किसानलाई स्याउको बगैचाको निर्माण गर्ने, गड्यौला मल खेती गर्ने, प्रदेश कृषि मन्त्रालयसँग मिलेर प्रांगारिक नमूना गाउँ निर्माण गर्ने कार्यको अगुवाई पनि गरिरहेका छन् ।
जुम्ली स्याउको बजारीकरण गर्न काठमाडौं पुगेका रावलले आफ्नै उद्योगको लोगो र लेबल रहेको प्याकेजिङ, ब्रान्डिङसहित रेड, रोयल जातका स्याउ बेचिरहेका छन् ।
किसानले उत्पादन गर्ने र राज्यले त्यसको व्यवस्थापन तथा बजारीकरण गरिदिनुपर्ने विचार राख्ने रावल राज्यले कुनै दायित्व लिन नसक्दा आक्रोस पोख्छन् । किसान आफैले उत्पादन र बजारीकरण गर्नुपर्ने बाध्यताले समस्या खेपिरहनु परेको उनको ठम्याइ छ ।
उनको बगैचामा रहेका सबै स्याउ फले भने हरेक वर्ष झण्डै ५० लाख रुपैया बराबरको कारोबार हुने उनको अनुमान छ । आफ्नै घर-आगनको माटोमा परिश्रम गरेर उत्पादित स्याउ बेचेर हुने आम्दानी वास्तविक राष्ट्रिय आम्दानीको एक हिस्सा बन्ने उनको मत छ ।
स्याउबाट ब्रान्डी, जुस, साइडर, वाइन, चाना, जाम, जेलीलगायतका परिकार बन्नुका साथै बियर समेत बन्छ । अंगुर र स्याउ बियर उद्योगका सबैभन्दा प्रभावकारी कच्चा पदार्थ हुन् । हाल बियर फ्याक्ट्रीले रावललाई स्याउ उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् ।
रावल यस वर्ष जुम्लाको कृषि विकास कार्यालयबाट उत्कृष्ट किसानको रूपमा पुरस्कृत भए । आफ्नो ब्रान्ड स्थापित गर्न काठमाडौं पुगेका लेखक तथा किसान रावलले लेखक, पत्रकार, कलाकार, साधक, सर्वसाधारण सबैलाई होमडेलीभरीको सुविधासहित स्याउ उपलब्ध गराइरहेका छन् ।
सात सय कार्टुन स्याउ लिएर काठमाडौं पुगेका रावलले लगभग सबै स्याउ बेचिसकेका छन् । अहिले उनीसँग एक सय कार्टुन मात्र बाँकि छ। कतै तपाईंले माथि चर्चा गरिएका स्याउ खान छुटाउनु भएको त छैन ?