महेन्द्रनगरबाट बाजुरा हिँडेको बस दुर्घटना: एक जनाको मृत्यु, ३० घाइते

प्रतिकात्मक तस्बिर

डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।

शनिवार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-02 07:55:15

प्रतिकृया दिनुहोस्