तराई मधेशमा आजदेखि विधिवत रुपमा छठपर्व सुरु

फाइल तस्बिर:बिएल

तराईबासीको ठूलो चाडको रुपमा मनाईने छठ पर्व आज (बिहिबार)देखि विधिवत रुपमा शुरु भएको छ ।

कठोर ब्रतको रुपमा मनाईने छठ ब्रत कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान भगवान सुर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।

छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी मनाउने गरिन्छ । चार दिनसम्म चल्ने पर्वको चतुर्थी तिथीबाट विधिवत शुरु भएको दिनलाई भोजपुरी भाषामा नहाए खाए अर्थात नुहाएर खानु भनिन्छ ।

नहाय खायको दिन छठैतिन महिलाहरु आँपको दतिउनले मुख धुने, हात खुट्टाको नङ्ग काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन् । आज ब्रतालूले लसुन, प्याज र मसुरोको दाल बिनाको शुद्ध सात्विक भोजन खाने गर्दछन् ।

जसमा अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्दछ । यस पर्वमा ब्रतालु महिलाहरु नहाय खायको दिनदेखि शारिरीक शुद्धताको ख्याल गरी ब्रहचार्यको समेत पालना गर्दछन् ।

नहाय खायको दिनदेखी छठि माईको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार आजदेखि छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरु पनि शुद्ध साकाहारी भोजन खाने गर्दछन् ।

छठको दोस्रो दिन शुक्ल पक्षको पंचमी तिथिलाई खरना तथा रसियाव रोटि भनिन्छ । यस दिन ब्रतालु पानि समेत नखाई निराहार ब्रत बस्छन् । बेलुकी माटोले बनाएको शुद्ध चुलोमा शख्खर भएको खीर तथा माटोको भाडोमा पकाईको गहुँको रोटिलाई विशेष प्रसादको रुपमा छठि माता र सूर्य देवलाई चढाएर ब्रतालुले प्रसादको रुपमा खान गर्छन् ।

छठको तेस्रो दिन अर्थात संझिया घाटको षष्ठि तिथिमा ब्रतालुले निर्जल र निराहार रहि बेलुकी अस्ताउदो सुर्यलाइ जलाशयमा उभेर अघ्र्य दिने र आफ्नो मनोकांक्षा भगवान सूर्य देवलाई सुनाउने गर्छन । भाकल गरेकोले सो दिन घरमा आएर छठि मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् ।

छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा बिहनइया अथवा भोरे घाट भनिन्छ । सप्तमी तिथिको उदाउदो सुर्यलाई जलाशयमा अघ्र्य दिएर प्रार्थना गर्छन् । अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ ।

तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । यसैबीच तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेमको प्रतिकका रुपमा मनाइने सामाचकेवा पर्वको पनि चहलपहल सुरु भएको छ ।

प्रकाशित मिति: : 2019-10-31 08:28:45

प्रतिकृया दिनुहोस्