स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५—१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लिओनल मेसीले २ गोल गरे ।यस्तै लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा लेन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा भालाडोलिडका किकोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । २९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ को बन्यो । ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाले ४–१ को अग्रता बनायो । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना ५–१ ले बिजयी भयो ।
जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ ।