हत्या र अपहरणमा समातिएका खानलाई छोड्न नेकपा कार्यकर्ता सक्रिय

तस्बिरः बिएल

हत्या र अपहरणलगायत ८ वटा मुद्दामा प्रहरीले दुई दिन अगाडि काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको नसिम अहमद खानलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै सत्तारुढ नेकपा कपिलवस्तुका अध्यक्ष तथा महासचिवले विज्ञप्ति सार्वजनिक गरेका छन्।

राजनीतिक आवरणमा अपराधिक क्रियाकलापमा संलग्न खानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले शनिबार पक्राउ गरेको थियो।

उनी संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य थिए। २०७४ सालमा स्थानीय एक बालकको अपहरण गरी उनलाई मारेर फरार भएका नसिमलाई २ वर्षपछि नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। २०६३ यता उनीविरूद्ध ८ वटा हत्याको मुद्दा थियो।

नेकपा कपिलवस्तु अध्यक्ष झबिलाल पोखरेलले राजनीतिक गतिविधिका क्रममा उनीविरूद्ध लगाइएको मुद्धालाई पुनः बल्झाउन खोजिएको आरोप लगाउँदै उनलाई शिघ्र रिहा गर्नुपर्ने माग राखेका छन्।

नेकपा कपिलवस्तु सचिव रामचन्द्र साहको पनि हस्ताक्षर रहेको विज्ञप्तीमा खान कौटल्य समूहको संगठित सदस्य रहेको बताइएको छ। विज्ञप्तीमा तराईमा आन्दोलनरत पार्टीका सदस्यहरूले नेपालको संविधान स्विकार गरी सरकारलाई हातहतियार बुझाएर मुलप्रभावमा जोडिने इच्छा जाहेर गर्दा प्रहरीबाट भएको पक्राउ निन्दनीय रहेको बताइएको छ।

प्रकाशित मिति: : 2019-07-08 10:58:29

प्रतिकृया दिनुहोस्