राति १० बजेपछि देउसी/भैलो नखेल्न गृहको उर्दी,अटेर गरे कारबाही गर्ने चेतावनी

फाइल तस्बिर:कलाकारहरु देउसी/भैलोमा नाच्दै

सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् ।

स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसी/भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसी/भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।

‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति काठमाडौंले निर्णय गरेको छ,’ प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीरभैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षामा खलल पुर्‍याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्व मर्यादित र व्यवस्थित रुपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए ।

तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली नै खटाएको
उनले बताए ।

प्रकाशित मिति: : 2019-10-25 21:34:56

प्रतिकृया दिनुहोस्