नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो २ बजे बस्न लागेको बैठकमा उपनिर्वाचन र नेविसंघ लगायतका भ्रातृ संस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केही दिनयता लगातार भ्रातृ संस्था र उपनिर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारीबीच छलफल भएको थियो ।
यस्तै उपनिर्वाचनका लागि उम्मेदवारी छनोट, पार्टीको एजेण्डा र नाराका विषयको पनि बैठकले टुंगो लगाउने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बागलुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ ।
बुधबारको पदाधिकारी बैठकले उक्त सूचीबारे मोटामोटी छलफल गरेको थियो ।
उक्त विषयमा केन्द्रीय समितिमा वृहत छलफलपछि टिकट वितरण गरिने उनले बताए ।