 
                                            
                                        
                                     
                                प्रवेश बिष्ट
 
                                आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरलाई चासोका रुपमा हेरिएको छ। एउटा संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्व मुख्यमन्त्रीदेखि बहालवाला मुख्यमन्त्रीसम्म उम्मेदवार बन्ने दौडमा छन्।
अघिल्लो निर्वाचनमा भोजपुरबाट प्रदेशसभा चुनाव जितेका शेरधन राई र राजेन्द्रकुमार राई प्रदेश १ को मुख्यमन्त्री बने। प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई, वर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ र कांग्रेसका उमेशजंग रायमाझी उम्मेदवार बन्ने दौडमा छन्।
२०७४ को संघीय निर्वाचनमा एमाले-माओवादीको वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सुदन किराँती विजयी भएक थिए। उनले काँग्रेस र जसपासहितको गठबन्धनका काँग्रेसका उम्मेदवार उमेशजंग रायमाझीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा रायमाझीले २१ हजार ६९६ मत मात्रै ल्याएका थिए।
एमालेले यसपटक शेरधन राईलाई नै उम्मेदवार बनाउने पक्का जस्तै छ। राईले आफू संघीय संसदमा उठ्ने घोषणा गरिसकेका छन्। ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई ०६४ सालको संविधान सभाको निर्वाचनमा भने पराजित भएका थिए। उनी दोस्रो संविधान सभा निर्वाचनमा पुनः विजयी बन्दै सञ्चारमन्त्री समेत भएका थिए।
भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) बाट अत्याधिक मत ल्याएर शेरधन राई विजयी बनेका थिए। उनले २० हजार ३३४ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनका उम्मेदवार बनेका काँग्रेसका गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत मात्रै ल्याएका थिए।
प्रदेश १ का बहालवालाा मुख्यमन्त्री राजेन्द्र राई पनि भोजपुरबाटै संघीय चुनाव लड्ने तयारीमा छन्। राई नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पनि हुन्। विद्यार्थी राजनीतिबाट उदाएका राई नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री बनेका हुन्।
अघिल्लो निर्वाचनमै प्रतिनिधिसभामा उठ्ने चाहना गरेका राजेन्द्र राई गठबन्धनका कारण प्रदेशमा चुनाव लडेका थिए। गठबन्धन हुँदा भोजपुर माओवादीको भागमा परेको थियो।
भोजपुर प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) बाट राजेन्द्र राईले १९ हजार २९७ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दी काँग्रेस र जसपाको गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याएका थिए। अजम्बर राई हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन्।
बहालवाला प्रतिनिधिसभा सदस्य सुदन किराँती पुनः उम्मेदवार बन्ने दाउमा छन्। किराँती २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए। २०७० सालमा भने उनी पराजित भएका थिए। २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा विजयी बनेका थिए। लामोसमयदेखि माओवादीको राजनीतिमा सक्रिय रहेका किराँती पछिल्लो समय लोकप्रिय छन्।
किराँतीलाई प्रदेश १ को मुख्यमन्त्री बनाउनका लागि प्रदेशमा उठाउने पनि चर्चा हुन थालेको छ। तर, कांग्रेसले गठबन्धन हुँदा प्रतिनिधिसभा नछाड्ने दावी गरिरहेको छ। अघिल्लो निर्वाचनमा पराजित भएका उमेशजंग रायमाझी उम्मेदवार बन्ने दौडमा छन्। उनका अलावा कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा पनि टिकटको दौडमा छन्।
स्थानीय तहको मत परिणाम
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको वडाध्यक्षको मत परिणामअनुसार एमाले पहिलो पार्टी बनेको छ। ८१ वडा रहेको भोजपुरमा एमालेले ३२ वडामा वडा अध्यक्ष जितेको छ। कांग्रेसले २८ वडा अध्यक्ष जित्दा माओवादीले १८ वडा अध्यक्ष जितेको छ। त्यस्तै जसपा, नेकपा एस र स्वतन्त्रले एक/एक वटा वडा अध्यक्ष जितेका छन्।
एमालेले वडाध्यक्षमा जम्मा २७ हजार ६५६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २३ हजार ५९१ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १४ हजार ७५८ मत छ।
चौथो र पाँचौँमा रहेका नेकपा एकीकृत समाजवादी र जसपाको क्रमशः १ हजार ९४५ र १ हजार ४९८ मत छ।
९ पालिका रहेको भोजपुरमा एमालेले ३ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख जितेको छ। एमालेले पौवादुंगा, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकामा प्रमुख जितेको छ भने टेम्केमैयुङ, पौवादुंगा र भोजपुर नगरपालिकामा उपप्रमुख जितेका छ।
कांग्रेसले अरुण गाउँपालिकामा प्रमुख उपप्रमुख, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकामा प्रमुख जितेको छ। रामप्रसाद राई, हतुवागढी र साल्पाछिलिचो गाउँपालिकामा उपप्रमुख जितेको छ।
यसैगरी माओवादीले आमचोक गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा रामप्रसाद राई गाउँपालिकामा प्रमुख र षडानन्द नगरपालिकामा उपप्रमुख जितेको छ।
भोजपुरमा स्वतन्त्रले साल्पाछिलिचो गाउँपालिकामा प्रमुख जितेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया