बिएल संवाददाता
भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूको शव गाडेको विषयमा सरकारलाई ‘फोकटको सल्लाह’ दिएका सहसचिव कोशहरि निरौलालाई काजमा सरुवा गरेको छ।
हतार गरेर चितवनमा लास गाडेको भन्दै सामाजिक सञ्जालमा स्टाटस हालेका निरौलालाई भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनकै जिम्मेवारी दिएको हो।
निरौला हाल कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका निरौलालाई आजैदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्ने गरी रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्न काजमा खटाएको हो।
निरौलाले हिजो मात्रै फेसबुकमा कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै शव व्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए।
उनले फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेको भोलिपल्टै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी बाढी प्रभावित क्षेत्रमा अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनलाई रसुवाको टिमुरे क्षेत्रमा काजमा खटाएको हो।
यस्तो छ कोशहरि निरौलाको स्टाटसः
हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउला ।
कोभिडको बेला थियो । म मोरङ्गको प्रमुख जिल्ला अधिकारी थिए । कोभिडले मानिसहरुको ज्यान लिन शुरु गरिसकेको थियो । त्यसबेला कोभिड लागेर ज्यान जानु कति भयावह थियो भनी साध्य नै छैन । मरेको लास छुनु त पर जावस देख्नु पनि नहुने !! अस्पताल पुगेको मानिस कसरी मर्छ, अनि कसरी सदगत् गरिन्छ ? केही थाहा नहुने । कडा प्रोटोकलसहित जङ्गलमा गाड्नु पर्ने । एकातिर आफन्तलाई मर्यो भन्ने विश्वास गर्नसम्म गार्हो थियो, अर्कोतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति लास यसै गरी व्यवस्थापन गरियो ।
यही वीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बित्नु भयो । उहाँको सद्गत पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगें । उहाँको बुबाले सुनाएको “मेरो छोरो कोभिड लक्षण देखिएर हिड्दै अस्पताल पुगेको थियो । मर्यो कि मारियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउथ्यौ । जन्मे पछि मर्छौ भन्ने थाहा सबैलाई छ । बिचराले रोग जित्न सकेन मरेछ भन्थ्यौ । हाम्रो संस्कार अनुसार सके, मिले दागबत्ती दिन्थ्यौ नमिले परबाट माला चढाएर भए पनि अन्तिम अनुहार हेर्थ्यौ “ भनेको पीडा, दुखेसो साँच्चै नै हृदयविदारक थियो । उहाँले गरेको यो दुखेसो यति पीडादायी थियो कि म आफैले आफैलाई प्रश्न गरे, के म आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिन ? हामीले अवलम्बन गरेको यो अन्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा हामीले गरेको काम के साँच्चै मानवीय संवेदना नजीक छ ? म भोलि यसै गरी मरे भने मेरो आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ?
त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यौं । कोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गर्यौ । “घाटमा बनाएको चितासम्म नेपाली सेनाले पुर्याउने र चितामा राखीदिने । चितालाई नछोइकन परबाट आफन्तले फुलमाला राख्न सक्ने र आगो लगाउन सक्ने” निर्णय गरेका थियौ । त्यसपछि कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार त्यही अनुसार भयो । कोभिडबाट मृत्यु हुनेको दाहसंस्कार यसरी गर्न दिने निर्णय मोरङ्गले सबै भन्दा पहिले गरेको थियो । कोभिड सकिने बेलासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन तर मोरङ्गमा सहज भएकोले धरानमा बितेकालाई सम्म मोरङ्गमा ल्याएर दाहसंस्कार गरिएको थियो । मानिसको मृत्युको भरपाई त कसले गर्न सक्छ र? तर पनि यसले हामीलाई गुमनाम रुपमा अन्तिम संस्कार गर्नु पर्ने झन्झट र बाध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गुमाउदाको पीडालाई अलिकति भए पनि कम गर्यो । मृत्यु संस्कार आफैमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नगाडौ । आफन्त नभेटिए ६/७ महिना पछि जे गर्नु पर्छ, गरौला । मृतक वा परिवार गुमाएका, हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन् । सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनु पर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरूका परिवारसमेत खोजतलास गर्दै आइपुग्नु हुन्छ । जो भए पनि तिनको आत्माको चीरशान्तिको कामना गरौं । कृपया संवेदनशील बनौं । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौं । लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराधात पनि नगरौं ।
यति कुरा भन्न मन लाग्यो र भने ।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया