बुधबार, २५ नोभेम्बर २०२६

निर्यात बढे पनि व्यापार घाटा उस्तै

News Image
• • •

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ।

आयात र निर्यात दुवै वृद्धि हुँदा साउनदेखि कात्तिकसम्म कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो। भन्सार विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको छ।

चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो। यसैगरी, निर्यात १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

निर्यातको वृद्धिदर आयातको भन्दा ११.७१ प्रतिशत बिन्दुले बढी भए पनि व्यापार घाटामा भने कमी आउन सकेको छैन। समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो।

कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। गत वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकामा चालु आवमा बढेर १४.३१ प्रतिशत पुगेको छ। यसले कुल व्यापारमा निर्यातको योगदान बढेको देखाउँछ।

त्यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ। आयात–निर्यात अनुपात पनि गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा आएको छ। यसको अर्थ अघिल्लो वर्षको तुलनामा आयातको तुलनामा निर्यातको अनुपातमा सुधार आएको हो।

निर्यातमा उच्च वृद्धिदर देखिए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा बढ्ने क्रम रोकिएको छैन। समीक्षा अवधिमा निर्यातको हिस्सा बढ्नु र आयात–निर्यात अनुपात घट्नुले वैदेशिक व्यापारको संरचनामा भने सामान्य सुधार भएको संकेत गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!