बुधबार, १८ नोभेम्बर २०२६

प्रभु बैंकको एक्सन: रश्मी पन्त र शाक्य हटाइए, अरु दुईजनामाथि पनि कारबाही

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रभु बैंकले आफ्ना चारजना कर्मचारीलाई कारबाही गरेको छ। बैंक व्यवस्थापनले आफ्ना चिफ बिजनेश अफिसर रश्मी पन्त र अर्का कर्मचारी सुगेन शाक्यलाई जागिरबाटै बर्खास्त गरेको छ।

त्यस्तै एकजनालाई पदबाट घटुवा गरिदिएको छ अर्का एकजनाको बढुवा रोक्का गरिएको छ।

पन्तलाई गएको कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको सेवाबाट बर्खास्त गरिएको छ बैंक व्यवस्थापनले जनाएको छ। उनिमाथि आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरिकनै एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुर छ। सोही आरोपमा पन्तलाई यसअघि प्रहरीले पक्राउसमेत गरेको थियो।

शाक्यलाई पनि कात्तिक २० गतेदेखि नै लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको बैंकको आन्तरिक सूचनामा सर्कुलर गरिएको छ। शाक्यमाथि प्रभु ग्रुप इन्कद्वारा रेमिट्यान्स कारोबारको सन्दर्भमा पेस गरिएको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियमहरूको पालना नगरेको र बैंकलाई ठूलो वित्तीय जोखिम तथा कानुनी दायित्व भार पारेको बैंकले  जनाएको छ।

बैंकका कर्मचारी सुदिप श्रेष्ठलाई सहायक पदमा झारिएको छ। यसअघि उनि सहायक पदमा थिए। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनाधिकृत रूपमा इमेल प्रवाह गर्दै बैंक विनियमावलीविपरीत काम गरेको उनिमाथि आरोप छ।

अर्का एक कर्मचारी मधुसूदन न्यौपानेको बढुवा रोकिएको छ। बैंकको सर्कुलरअनुसार बैंङ्कका स्थापित कार्यविधिहरूको पालना नगरी कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै उनलाई दुई वर्षसम्म कुनै पनि पदमा बढुवा नगर्नेगरी रोक्का गरिएको बैंकले जनाएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!