बिएल संवाददाता
- आकांक्षा धामी
नेपाली संगीत क्षेत्रका चर्चित संगीतकर्मी अर्जुन पोखरेलको संगीत यात्रा उनको बाल्यकालमै सुरु भएको हो। उनका बुबा चितवन भजन टोलीका अध्यक्ष थिए भने आमा लोकदोहोरी गायिका। यही पारिवारिक वातावरणले उनलाई संगीतप्रति प्रेरित गर्यो।
पोखरेलले बाल्यकालमै मादल बजाउन सिके र बुबाआमासँगै भजन गाउँथे। ‘म चार-पाँच कक्षादेखि नै चर्चित थिएँ, ’उनी सम्झन्छन्, ‘त्यतिबेला डिजिटल प्लेटफर्म भएको भए, म भाइरल बालक नै हुन्थेँ।’
एसएलसीपछि काठमाडौं यात्रा
एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले। ‘बुवाआमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत लोकगायनमा आफ्नो उपस्थिति जनाए।
संघर्षपूर्ण यात्रा
उनको प्रारम्भिक संघर्ष सजिलो थिएन। ‘त्यो बेला फिल्मका हिरो, हिरोइन, निर्माता भेट्नु अति कठिन थियो,’ उनले भने,‘हामीसँग प्रतिभा थियो, तर अवसर थिएन।’ उनी भन्छन्, ‘आजको जस्तो डिजिटल सजिलो नभएकाले आफूजस्ता संगीतकर्मीले कति संघर्ष गर्नुपर्याे भन्ने कुरामा समाज अझै बेखबर छ।’
संगीतमा सिर्जना र रोयल्टीको चुनौती
पोखरेलका अनुसार, संगीतकारको मूल शक्ति भनेको नवीन ‘मेलोडी’सिर्जना गर्ने क्षमता हो। ‘तर यति धेरै फरक फर्मुला प्रयोग गर्दा पनि हामीले सबै ठाउँबाट रोयल्टी सजिलै पाएका छैनौं,’ उनी गुनासो गर्छन्।
उनले भाषा र संगीत ज्ञानलाई अत्यन्तै आवश्यक मानेका छन्। ‘गीत चल्दो छ, तर भाषागत रूपमा अशुद्ध छ भने त्यो दीर्घकालीन हुँदैन,’उनी भन्छन्।
जीवनसँग जोडिएका गीत
पोखरेलले गीतहरूलाई जीवनका यथार्थ अनुभवमा आधारित बनाउने गर्छन्। ‘सम्भव नहुने कल्पना म लेख्दिनँ,’ उनी स्पष्ट पार्छन्। हालै श्रीमतीलाई समर्पण गरेर तयार गरेको गीत चाँडै सार्वजनिक गर्ने तयारीमा छन् पोखरेल।
उनको गीत ‘मेरी प्यारी छोरी’ पनि व्यक्तिगत भावनासँग जोडिएको छ। ‘संगीत दिवसको एक दिनअघि मात्रै उनको छोरी जन्म भएको थियो,’ उनी सम्झन्छन् ,‘त्यही बेला मैले अस्पतालमा बसेर गीत लेखें।’
एआईको प्रभाव र भविष्यको सोच
पोखरेल एआई (कृत्रिम बौद्धिकता)लाई आवश्यक मान्छन्, तर सीमित रुपमा। ‘एआईले सिर्जना गर्न सक्छ, तर त्यो मानवीय भावनासँग मेल खान सक्दैन,’ उनी तर्क गर्छन्।
रोयल्टी प्रणालीमा सुधार आवश्यक
रोयल्टी संकलन प्रणालीमा व्यापक सुधारको माग गर्दै उनले सरकारलाई चेतावनी दिएका छन्। ‘नेपालमा रेडियो, टेलिभिजनमा बज्ने गीतको तथ्यांक राख्ने सर्भर राख्नुपर्छ,’ उनले भने। हालै दुई महिनाअघि सबैभन्दा बढी रोयल्टी भुक्तानी पाउने संगीतकर्मी उनी स्वयं रहे पनि, प्रणाली अझै स्पष्ट नभएको उनी बताउँछन्।
उत्पादनबाट मञ्चसम्मको यात्रा
चलचित्र ‘दिलमाया’को गीत ‘छुट्छ कि साथ, टुट्छ कि नाता’ उनका पहिलो गीतमध्ये पर्दछ। त्यसपछि ‘बाटो मोडेर गयौं’ ‘किन आजकल तिम्रो मन मैलो भो’ जस्ता गीतहरूले उनलाई लोकप्रिय बनाए।
अब चाडपर्वसँग जोडिएका गीत सार्वजनिक गर्ने तयारीमा रहेका पोखरेल भन्छन्,‘संगीत मेरो जीवन हो, भावना हो, यही नै मेरो पहिचान हो।’
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया