मङ्गलबार, ०९ जुन २०२६

नौ करोड क्लबमा ‘लालीबजार’

News Image
• • •

गत जेठ २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ। घरेलु बजारमा नौ करोड रुपैयाँ आम्दानी गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली फिल्ममध्ये सर्वाधिक आम्दानी गर्ने फिल्म बनेको छ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘सिनेपा एट बक्सअफिस’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ २४ गतेसम्म फिल्मले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

उक्त अवधिसम्म फिल्मका २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांक आइतवारसम्मको भएकाले मंगलवारसम्म फिल्मको आम्दानी नौ करोड रुपैयाँ नाघिसकेको छ। अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको फिल्ममा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा तथा प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ।

यही फिल्ममार्फत डेब्यू गरेका अभिनेता विशाल देवकोटा तथा अभिनेत्री प्रशंसा सुवेदीले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्। देवकोटाले करिब नौ वर्ष रंगमञ्चमा काम गरेपछि ठूलो पर्दामा डेब्यु गरेका हुन्।

पहिलो फिल्म नै व्यावसायिक रूपमा सफल भएपछि आफूले मेहनतको प्रतिफल पाएको उनको भनाइ छ। फिल्ममा उनले ‘नारायण’ नामक पात्रको भूमिका निर्वाह गरेका छन्। शिक्षाको महत्त्व बुझाउने पात्रका रूपमा प्रस्तुत भएकाले दर्शकले उक्त चरित्रलाई विशेष रुचाएका छन्। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!