शनिबार, ०६ जुन २०२६

मेलिना राईः गीतले बनायो परिचय, संघर्षले बनायो स्टार

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मेलिना राई आज लोकप्रियता, व्यस्तता र निरन्तर सफलताका कारण चर्चामा रहन्छिन्।

मधुर स्वर, शालीन प्रस्तुति र मञ्चमा आत्मविश्वासपूर्ण उपस्थितिका कारण उनलाई धेरैले ‘स्टेज क्विन’ भनेर पनि चिन्ने गर्छन्। तर उनको सफलताको यात्रा भने सहज थिएन। संघर्ष, धैर्यता र निरन्तर मेहनतले नै उनलाई आजको स्थानमा पुर्‍याएको हो।

‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई गतिशील बनाइदियो । कहिले स्टेजमा, कहिले रेकर्डिङमा । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने।

युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ । सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ। सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ। गायनका लागि सर्वाधिक खोजिनेमा उनकै नाम आउँछ।

लोकप्रिय गायिका मेलिना राईले बीएलकर्मी तेजन खड्कालाई आफ्नो जीवनका केही नखुलेका पाटा यसरी सुनाइन्।

बुबाको गीतबाट सुरु भएको सांगीतिक यात्रा

मेलिनाले ११ वर्षको उमेरमै पहिलो पटक रेकर्डिङ स्टुडियोमा गीत गाएकी थिइन्। ‘हिमालको काखमा छ मेरो सुन्दर देश’ बोलको उक्त गीतका शब्द तथा संगीत उनका बुबा जयन्त राई ले सिर्जना गरेका थिए।

‘त्यो मेरो जीवनकै पहिलो रेकर्डिङ थियो। निकै डर लागेको थियो, तर त्यो अनुभव आज पनि विशेष लाग्छ,’ उनी सम्झिन्छिन्।

सांगीतिक वातावरणमै हुर्किएकी मेलिनाका लागि संगीत  पेशा नभई जीवनको अभिन्न हिस्सा बन्यो।

आफ्नै स्वर सुन्दा पाएको फरक अनुभूति

२०७२ सालतिर काठमाडौंको एक मोबाइल पसलमा पुगेकी मेलिनाले पसलभित्र आफ्नै स्वरमा गुञ्जिरहेको ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला’ गीत सुनिन्।

‘बहिनीलाई देखाउँदै भनेँ- हेर न, मेरो गीत बजेको छ,’ उनी मुस्कुराउँदै सम्झिन्छिन्। त्यतिबेला उनको स्वर लोकप्रिय बन्दै गइरहेको थियो, तर अनुहार भने धेरैले चिनेका थिएनन्। स्वरले नै उनको परिचय बनाइरहेको समय थियो त्यो।

२६५५ भन्दा बढी गीत र अन्तर्राष्ट्रिय मञ्च

गायन यात्रामा मेलिनाले हालसम्म २६५५ भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। व्यस्त समयमा उनले एकै दिनमा छ वटा गीतसम्म रेकर्ड गरेको अनुभव पनि छ।

गायनकै कारण उनले युरोपका चार देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्। यति धेरै गीत गाइसक्दा पनि पहिलो गीतको अनुभव भने अझै विशेष लाग्ने उनी बताउँछिन्।

पहिलो कमाइ र पहिलो सवारी

पहिलो गीत गाएबापत उनले दुई हजार रुपैयाँ पारिश्रमिक पाएकी थिइन्।

‘रकम सानो थियो, तर त्यो कमाइले दिएको उत्साह ठूलो थियो,’ उनी भन्छिन्।

आफ्नो कमाइबाट किनेको पहिलो स्कुटीलाई भने उनी आज पनि विशेष उपलब्धिका रूपमा सम्झिन्छिन्।

पहिलो पुरस्कारको खुसी, बिछोडको पीडा

२०६५ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि मेलिनाले आफ्नो पहिलो औपचारिक पुरस्कार प्राप्त गरिन्।

‘त्यो दिनको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ,’ उनी भन्छिन्।

तर जीवनमा खुसीसँगै पीडाका क्षण पनि आए। २०११ मा बोजुको निधन भएपछि उनले गहिरो मानसिक पीडा भोगिन्।

‘त्यो सम्झना अझै पनि भावुक बनाउँछ,’ उनी सुनाउँछिन्।

टुकटुके मोबाइलदेखि नृत्यसम्म

मेलिनाको पहिलो मोबाइल फोन नोकियाको पुरानो ‘टुकटुके’ सेट थियो, जसमा सर्प खेल खेलिन्थ्यो।

‘आन्टिले दिनुभएको थियो। कति पटक खस्यो, केही हुँदैनथ्यो,’ उनी हाँस्दै भन्छिन्।

गायनसँगै उनी विद्यालय जीवनदेखि नै नृत्यमा पनि सक्रिय थिइन्। विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्ने उनी विद्यालयकालमै राम्रो नर्तकीका रूपमा चिनिन्थिन्।

प्रेमपत्रभन्दा संगीत रोजिन्

मेलिना भन्छिन्, ‘मैले कसैलाई प्रेमपत्र लेखिनँ। अरूले पठाउँथे, तर म हाँसेर टारिदिन्थेँ।’

गायनमै केन्द्रित भएकाले डेटिङ र प्रेमका विषयमा सोच्ने समय नै नपाएको उनी बताउँछिन्।

स्वर बन्द हुँदा छुटेका अवसर

सांगीतिक करिअरको सुरुवाती चरणमै उनलाई टन्सिलको समस्या देखियो। त्यसका कारण केही महत्वपूर्ण अवसर गुमाउनुपरेको सम्झना उनीसँग अझै ताजा छ।

‘धेरै राम्रो प्रस्ताव आएका थिए। तर स्वर निस्केन, गाउन सकिनँ। त्यो समय निकै कठिन थियो,’ उनी भन्छिन्।

संघर्षबाट बनेको परिचय

आज मेलिना राई  एक गायिकाको नाम होइन, नेपाली संगीत क्षेत्रमा स्थापित ब्रान्ड बनेकी छन्। मधुर स्वर, शालीन व्यक्तित्व, मञ्चीय आत्मविश्वास र निरन्तर संघर्षले उनको पहिचान निर्माण गरेको छ।

बुबाको गीतबाट सुरु भएको उनको सांगीतिक यात्रा आज आफ्नै नाम र सफलताको यात्रामा रूपान्तरण भएको छ। नेपाली संगीतका हजारौं गीतमा गुञ्जिएको उनको स्वर अझै उत्तिकै लोकप्रिय र प्रिय बनेर श्रोतामाझ रहिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!