म्यानमारको यू–२३ फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू–२३ टिमलाई विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुरको सातदोबाटोमा कार्यक्रम गर्दै यू–२३ टिमलाई विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ लगायतले विदाई गरे ।
एन्फाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको रुपमा म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्न लागेको नेपाली टिम मंगलबार कतारतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।
मैत्रिपूर्ण खेलको लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम सार्वजनिक गरिसकेका छन् ।
टिममा अनन्त तामाङ, अञ्जन विष्ट, विक्रम लामा, क्षिरिङ गुरुङ सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर र अर्पन कार्की रहेका छन् ।
त्यस्तै, दीप कार्की, देव लिम्बु,रामचन्द्र वाजी, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ, विकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, र सुमन अर्याल रहेका छन् ।
नेपालले यही कात्तिक ८ गते शुक्रबार म्यानमारसँग कतारको दोहामा मैत्रिपूर्ण खेल खेल्दैछ ।