गएको दशकमा नेपालमा आमूल परिवर्तन भएको क्षेत्र हवाई सेवा हो। जहाजबाट यात्रा गर्ने कल्पना पनि गर्न नसक्ने तप्काका नागरिकले अहिले सहजै नियमित हवाई यात्रा गरिरहेका छन्।
पहिले सडक सञ्जाल नजोडिएका गन्तव्यमा सरकारी कर्मचारी र विदेशी पर्यटकको मात्र पहुँच थियो । तर, गएको दशकमा यति सर्वसुलभ भयो कि चाहना हुने प्रायःले उपयोग गर्न थालेका छन्। हवाई सेवा कुनै बेला बाध्यता र प्रतिष्ठाको विषय थियो। तर, अहिले आवश्यकता बनिसकेको छ।
यो सबै कसरी भयो?
यसको मुख्य कारण हवाई सेवाको मूल्यमा स्थिरता हो। अर्थात् लामो समयदेखि देशमा अन्य सबै वस्तु तथा सेवाको मुल्य बढ्दा पनि हवाई सेवाको स्थिर छ। एयरलाइन्सले भाडा त बढाएका छन्, तर पनि यात्रुहरुले सस्तोमै टिकट पाइरहेका छन्।
अहिलेको समयमा ५३ प्रतिशत बजार हिस्सा ओगटेको बुद्ध एयरको यसमा ठूलो भूमिका छ। लामो समयदेखि बजारमा एक नम्बर अपरेटरको रुपमा रहेको बुद्ध एयरले गएको वर्ष २८ लाख हवाई यात्रुमा एक्लैले १५ लाख बढीलाई सेवा दिएको थियो।
आजभन्दा दुई दशक अगाडिको भाडामा अहिले पनि यात्रुले यात्रा गर्न पाएका छन्। दशक अघि काठमाडौं–विराटनगरको भाडा १६ सय रुपैयाँ थियो। अहिले निर्धारित भाडा त बढी छ । तर बुद्धले अहिले पनि रु ३५०० कै हाराहारीमा टिकट बेचिरहेको हुन्छ। जबकि सञ्चालन तथा इन्धन खर्चमा व्यापक वृद्धि भएको छ।
राष्ट्र बैंकको महँगी वृद्धिदर हेर्ने हो भने, गएको दशकको औषत मूल्यवृद्धि ५ प्रतिशत भन्दा बढी छ। यस हिसाबले टिकटको मूल्य दोब्बर बढी हुनुपर्छ। तर पनि यात्रुहरुले करिब करिब उही मूल्यमै यात्रा गर्न पाईरहेका छन्। त्यही कारणले पाँच वर्षमै हवाई यात्रु दोब्बर अर्थात् १४ लाख थपिएका छन्। टिकटको मूल्य सस्तो हुँदा हवाई बजार ज्यामितीय आकारमा बढेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी भन्छन्।
सर्वसुलभ हवाई सेवामा डिले बहस
तर पछिल्लो समय हवाइ सेवाका बारेमा व्यापक बहस शुरु भएको छ । विशेषगरी तोकिएको समयमा उडान नहुने समस्या बढ्दै गएपछि यात्रुहरु असन्तुष्ट हुन थालेका छन्।
असन्तुष्ट यात्रुको मुख्य तारोमा परेका छन् एयरलाइन्स र तिनका कर्मचारी ।
तर यो कति जायज हो? के एयरलाइन्स नै मुख्य दोषी हुन् । यो पक्कै होईन।
किन हुन्छ उडान ढिला?
१. पूर्वाधार अभाव
उडान तथा सेवा सञ्चालनसँग जोडिएका सबै सरोकारवाला निकायहरुको डिले हुने वा नहुनेसँग थोरबहुत सबैको जिम्मेवारी हुन्छ। चार दशक अगाडि डिजाइन गरिएको काठमाडौंको त्रिभुवन विमानस्थलले अहिलेको बजारलाई धान्नै नसक्ने अवस्थामा पुगेको छ। स्वयम् विमानस्थल कार्यालयले नै यो कुरा स्वीकार गरेको छ।
‘केही वर्षदेखि समयमै उडान नहुने समस्या बढ्दै गएको छ । जब हवाई बजार बढ्न थाल्यो तब यस्तो भएको हो । विमानस्थलमा भएको पुरानो पुर्वाधारले धान्ने बेलासम्म सबै ठिक थियो । बजार पनि सानो थियो । तर अहिले समय फेरिएको छ । एउटै एयरलाइन्सले अहिले दिनमा सय बढी उडान भर्छन् । यस्तोमा स्वभाविक रुपमा अस्थिर मौसमी प्रणाली तथा भिभिआइपी मुभमेन्टको समय झनै बढ्ने गर्छ’ विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भने।
विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे र टर्मिनल साँघुरा बन्दै गएका छन्। जहाज पार्किङ गर्ने ठाउँ नभएकै कारण कति जहाज आकाशमै होल्डमा बस्नुपर्ने बाध्यता छ।
साँघुरो विमानस्थल काठमाडौं मात्र होइन बाहिर पनि नहुँदा डिले बढ्दै गएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलको भनाइ छ ।
'पूर्वाधार ४० वर्ष अघिको छ, जतिबेला नेपाल एयरलाइन्सलेमात्र सेवा दिन्थ्यो। तर, अहिले १७ कम्पनी पुगेका छन्। अन्तर्राष्ट्रियमा पनि उत्तिकै कम्पनी थपिएका छन्। यस्तोमा डिले अहिले मात्र होइन यस्तो अवस्था हुन्जेल अझै हुन्छ,’ कँडेलले भने ।
२. मौसम
सँधैजसो डिले हुनुको अर्को कारण हो मौसम। काठमाडौंको मौसम बिहान ढिला खुल्दा दिनभरका उडान ढिला हुन्छन् । बिहानको एउटा उडान केहीगरी २ मिनेट ढिला भयो भने बेलुकाको उडान ३ घण्टासम्म ढिला हुने वायुसेवा सञ्चालक संघका प्रवक्ता कँडेलको भनाइ छ। उनका अनुसार एउटा उडान २ मिनेट ढिला भएमा दिनभर हुने ५० उडानमा त्यो १०० मिनेट पुग्छ ।
काठमाडौंको मौसम पुरै नखुली आइएफआर सिस्टमबाट उडान गराउनुपर्ने भएमा उडान दिनभर प्रभावित हुन्छ । भिएफआरमा घण्टामा ३० उडान ह्यान्डल गर्ने विमानस्थलले आइएफआर हुनेवित्तिकै १० मा झर्छ । यदि यस्तो प्रणाली एक घण्टामात्र रहेमा दिनभरको उडान भद्रगोल हुन्छ ।
त्यस्तै सुरक्षित उडान भर्नका लागि ती २ गन्तव्यबाहेक पनि वैकल्पिक एयरपोर्ट खुलेको हुनुपर्छ । त्यो नभएमा पनि उडान डिले हुन्छ ।
त्यस्तै अर्को समस्या हो रात्रिकालिन उडान नहुने विमानस्थलमा एयरलाइन्सहरुले दिउँसै उडान सक्न खोज्छन् । त्यसो हुँदा रात्रिकालिन उडान हुने विमानस्थलका उडानहरु झनै डिलेमा पर्छन् ।
३. मर्मतसम्भार र नोटाम
उडान ढिला हुनको अर्को कारण हो विमानस्थलका संरचना मर्मतसम्भार । यस्तो समयमा विमानस्थल प्रशासनले केही समयमा लागि उडान तथा अवतरण बन्द गराउँछ । त्यसपछि उपलब्ध सिमित समयमा धेरै उडान हुँदा स्वभाविक रुपमा ढिला हुन्छ ।
जस्तो गएको वर्ष काठमाडौं विमानस्थलको धावनमार्ग निर्माणको काम थियो । त्यतिबेला राति १० बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । अबको केही समयमा ट्याक्सी वे निमार्णका लागि त्यस्तैगरी विमानस्थलले नोटाम जारी गर्दैछ । यसरी विमानस्थल बन्द हुँदा त्यही समयभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सक्नुपर्ने हुन्छ। फगत एयर ट्राफिकका कारण उडानहरु डिले हुनजान्छ।
त्यसपछि अर्को हो उच्चपदस्थको उडान । यस्तो समयमा पनि विमानस्थलले नोटाम जारी गरि घण्टौं व्यावसायकि उडानहरु बन्द गराउँछ ।
समाधान के हो?
विमानस्थल प्रशासनले यसमा सुधारका लागि तत्काल पार्किङ वे थप गर्ने काम गरिरहहेको छ। त्यस्तै ट्याक्सी वे मर्मत तथा अन्य पूर्वाधार मर्मतको काम भइरहेको बताएको छ।
‘हामीले एटिसीको केही क्षमता विस्तार गर्यौं भने पनि थोरै क्षमता बढ्छ। त्यस्तै पार्कीङ वे र ट्याक्सी वे को काम सकिएपछि केही राहत हुन्छ,’ विमानस्थल प्रवक्ता तिवारीले भने।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि पूर्वाधारमा केही सुधार जरुरी भइसकेको बताउँछन्। उनले ट्याक्सी वे रनवे को इन्ड टु इन्ड हुनुपर्ने तथा अन्य पूर्वाधारको तत्काल विस्तार हुनुपर्ने बताउँछन् ।
सुधारका प्रयास जसले जति गरे पनि तत्कालै डिले आवर घट्ने सम्भावना भने न्यून छ । सुधारका काम पुर्वाधारकै हुन् । उडान संख्या थप नभएपनि घट्ने छैनन् । यस्तोमा तत्काल जादु नै गरे पनि डिले आवर जिरोमा झर्ने सम्भावना छँदैछैन।