उपराष्ट्रपति पुन सिंजा आउने

तस्बिरःमहेश नेपाली

कनका सुन्दरी गाउँपालिकाको आयोजनामा कर्णाली प्रदेश स्तरीय प्रथम बृहत सिंजा सांस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ।

सोमबार गाउँपालिकाले पत्रकार सम्मेलन गरी कार्तिक ८,९ र १० गते हुने महोत्सवको तयारीका विषयमा जानकारी गराएको छ।महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने भएका छन्।

तत्कालीन सिंजा सभ्यतामा रहेका प्रख्यात कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, विराट दरबार, लामाथाडा, ल्हासी पाटन, धोविगाड, सिउबाघ, गौरी नौधारा लगायत धार्मिक स्थालहरुको प्रचारप्रसार गरि पर्यटन भित्र्याउने तथा सिंजा सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिका आफै मुल आयोजक रहेको अध्यक्ष नरबिर रावलले बताए।

त्यस्तै सिंजाका मौलिक पहिरन परम्परागत खानपान तथा सांस्कृतिक झाकीहरुमा सिगारा नाच, धाउँसिला नाच, देउडा, चम्फा नाच, बालोनाच, ढाल नाच, मागल, झोडा, चुट्किला, पञ्चेबाजा, बालो नाच लगायतको उजागार गर्नु समेत उद्देश्य रहेको उनले थपे।

गाउँपालिकाको कुल २३ लाख लगानीमा हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने गाउँपालिकाले जनाएको छ।

तत्कालीन सिंजा साम्राज्यको राजधानी रहेको र ऐतिहासिक महत्त्व बोकेको सिंजा क्षेत्रको प्रचारप्रसार गरि बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेर महोत्सवको आयोजना गर्न लागिएको छ।

महोत्सवले सिंजा सभ्यतामा रहेका पुराना मन्दिर, देवल तथा दरबारको अध्ययन, उत्खनन तथा पुनर्निर्माणमा सहयोग पुग्ने र तीनको प्रचारप्रसार हुने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिने गाउँपालिकाको राय छ।

प्रकाशित मिति: : 2019-10-22 11:04:18

प्रतिकृया दिनुहोस्