विराटनगरबाट अवैध हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट आइतबार साँझ विराटनगर १५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको हो ।
साहका साथबाट सात लाख १८ हजार आठ सय ६० नेपाली रुपैयाँ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिए । शंकास्पद रुपमा हिंडिरहेका बेला पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा ठूलो परिणाममा नेपाली रुपैयाँ फेला परेको थियो ।
साहले बोकेको रकमको स्रोत नखुलेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिँउजुको भनाइ छ । साहलाई आवश्यक कारबाहीका लागि प्रहरीले सोमबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।