क्यानडामा संघीय चुनाव : नेपालीभाषीको भोट कसलाई ?

क्यानडामा संघीय चुनाव : नेपालीभाषीको भोट कसलाई ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

क्यानडामा नयाँ सरकार गठनका लागि सोमवार संघीय निर्वाचन हुँदैछ । १० प्रोभिन्स र तीन टेरिटोरी रहेको क्यानडामा यसपल्ट आधा दर्जनभन्दा धेरै राजनीतिक पार्टी चुनावी प्रतिस्पर्धामा छन् । नयाँ सरकारले उसैगरी आगामी चार बर्षे शासनको बागडोर सम्हाल्नेछ ।

निर्वाचनअघिका सर्वेक्षणअनुसार, यसपल्ट पनि ‘कन्जरवेटिभ पार्टी अफ क्यानडा’ र ‘लिबरल पार्टी अफ क्यानडा’वीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । कन्जरवेटिभले बहुमत ल्याए एन्ड्रिउ चिअर नयाँ प्रधानमन्त्री बन्नेछन् । लिबरलले बहुमत पाए जष्टिन ट्रयुडो प्रधानमन्त्रीमा दोहोरिने छन् ।

भारतीयमूलका जगमीत सिंह नेतृत्वको ‘नेशनल डेमोक्रेटिक पार्टी’ तेस्रो हुने अनुमान छ । बाँकि ‘ब्ल्क क्युवेस्वा’, ‘ग्रीन पार्टी अफ क्यानडा’, ‘पिपुल्स पार्टी अफ क्यानडा’, ‘प्रोग्रेसिभ क्यानेडियन पार्टी’ आदिले सीमित सिटमा जित हासिल गर्नेछन् ।

‘सीवीसी न्युज’को पछिल्लो सर्वेक्षणअनुसार, कूल तीन सय ३८ सिटमध्ये कन्जरवेटिभले ३२, लिबरलले ३१ दशलमलव ८ र डेमोक्रेटिकले १८ प्रतिशतमा जित हासिल गर्न सक्नेछन् । अर्थात्, कन्जरवेटिभ र लिबरलबीच कडा प्रतिस्पर्धा छ ।

आप्रवासीको बाहुल्य रहेको क्यानडामा नेपालीभाषीको संख्या भने ४० देखि ५० हजारसम्म रहेको मानिँदै आएको छ । यसमा झापा र मोरङका शिविरबाट तेस्रो देश पुर्नवासमा ल्याइएका भुटानी शरणार्थीसमेत पर्छन् । जसको संख्या नै झण्डै आठ हजार छ ।

यो पनि पढ्नु होला 
क्यानडामा भोलि निर्वाचन : फर्केलान् त ट्र्युडो फेरि सत्तामा ?

‘क्यानडामा ४०/५० हजार जति अनुमान गरिए पनि भोट हाल्न योग्य नेपालीभाषी त्यत्रो छैनन्’ लामो समयदेखि टोरन्टो बस्दै आएका एक एनआरएनए अगुवाले सुनाए, ‘नागरिकता लिइसकेका र १८ बर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउने हुँदा यतै बसे पनि चुनावमा सबै नेपालीभाषीको सहभागिता हुँदैन ।’

संख्या जे जति होस्, क्यानडा बस्ने नेपालीभाषीको मत यसपल्ट पनि बाँडिने देखिएको छ । विगतमा ‘कन्जरवेटिभ पार्टी’प्रति बढी सहानुभूति राख्ने केही नेपालीको मत यसपल्ट ‘लिबरल पार्टी’तिर जाने देखिन्छ । पहिले ‘लिबरल’तिर लागेका केही ‘कन्जरवेटिभ’तिर ढल्किएको पाइन्छ ।

यसमा ‘फोर्डले लछारपाटो लगाएन’ भन्दै कन्जरवेटिभबाट लिबरलतिर लाग्ने पनि छन् । उता, ‘ट्रयुडोले पनि खासै नापेन’ भनेर लिबरलबाट कन्जरवेटिभतिर ढल्किने पनि छन् । यस्ता ‘मुद्दा हेरेर मत हाल्ने’ खालका बाहेक कतै ढुलमुल नगरी एउटै पार्टीलाई मत हाल्नेको संख्या पनि उत्तिकै छ ।

‘नेपालीभाषी भुटानीको मत पनि एउटै पार्टीलाई जाँदैन, लिबरल र कन्जरवेटिभ दुबैतिर बाँडिन्छ’ गुएल्फ निवासी एक अगुवाले नाम उल्लेख नगर्ने गरी भने, ‘कन्जरवेटिभ सरकारको पालामा क्यानडा ल्याइएकाले त्यही पार्टीलाई रुचाउने र आप्रवासीको भलो गर्ने भनिएकाले लिबरल चाहने दुबैथरी भुटानी छन् ।’ 

‘सीवीसी न्युज’को पछिल्लो सर्वेक्षणअनुसार, कूल तीन सय ३८ सिटमध्ये कन्जरवेटिभले ३२, लिबरलले ३१ दशलमलव ८ र डेमोक्रेटिकले १८ प्रतिशतमा जित हासिल गर्न सक्नेछन् । अर्थात्, कन्जरवेटिभ र लिबरलबीच कडा प्रतिस्पर्धा छ ।

टोरन्टोस्थित सेन्टेनियल कलेजमा लामो समयदेखि प्राध्यापन गर्दै आएका डा. तुल्सी धरेलका अनुसार मिसिसागा र ब्राम्प्टन क्षेत्रमा बस्ने धेरैजसो नेपालीभाषीको मत कन्जरवेटिभ पार्टीलाई जान्छ । जेसन केनी इमिग्रेसन मन्त्री भएका बेला सन् २०१० देखि नेपालीभाषी र कन्जरवेटिभ नजिएका हुन् । 

‘आप्रवासीको हक हितमा लिबरल पार्टी नै अरुभन्दा भलो देखिए पनि नेपालीको समर्थन कन्जरवेटिभलाई छ’ प्राध्यापक डा. धरेलले भने, ‘स्कार्ब्रो, टोरन्टो, नर्थयोर्क आदि क्षेत्रका नेपालीको भोट चाहिँ त्यस्तो छैन, अलि फरक छ, फरकै पार्टीलाई बढी भोट जान्छ ।’

नेपाली आप्रवासीको हितमा जसले काम गर्छ, नेपालीभाषीले उसै पार्टीको उम्मेदवारलाई मतदान गरेको उल्लेख गर्दै एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले भने, ‘यसपल्ट मैंले पनि त्यसै गरी नेपाली समुदायको हित हुने काम गर्ने पार्टीलाई अग्रिम मतदान गरें ।’

पहिले कन्जरवेटिभप्रति कट्टर समर्थन गर्ने कतिपय नेपालीले यसपल्ट लिबरल र न्यु डेमोक्रेटिक पार्टीलाई सघाउने काफ्लेको अनुमान छ । न्यु डेमोक्रेटिकका नेता जगमीत सिंह भारतीयमूलका हुनु र उनी मातहतका उम्मेदवार पनि उसै समुदायका हुनुले केही नेपालीभाषी त्यता नजिकिएका हुनसक्छन् ।

महाभूकम्प जाँदा क्यानडामा कन्जरवेटिभ सरकार रहेको र तत्कालीन रक्षामन्त्री जेशन केनीले नेपालमा राहत तथा उद्दारका लागि टोली पठाउन सघाएको तथा नेपाली आप्रवासीलाई पारिवारिक पुनर्मिलन गराउन सघाएको ‘गुन तिर्न’ पनि कन्जरवेटिभलाई मत हाल्नुपर्ने कतिपयको अगुवाको सुझाव छ ।

‘क्यानडामा नेपालीभाषीलाई पहिल्यैदेखि कन्जरवेटिभ पार्टीले सहयोग गरिरहेको छ, हामीले उसैलाई जिताउनु राम्रो हुन्छ’ एनआरएनए क्यानडाका पूर्वअध्यक्ष अनिल थापाले सार्वजनिक आह्वानै गरेका छन्, ‘पहिले काम लागेको र पछि पनि काम लाग्ने पार्टी भएकाले कन्जरवेटिभलाई जिताउन आग्रह हो ।’

‘सीबीसी’ न्युजको सर्वेक्षणअनुसार, यसपल्ट लिबरलको बहुमत सम्भावना १२ प्रतिशत मात्रै छ । कन्जरवेटिभको त झनै दुई प्रतिशत मात्रै । उता, लिबरलले धेरै सिट ल्याउने तर बहुमत नपाउने ४८ प्रतिशत र कन्जरवेटिभले बहुमत नल्याए पनि धेरै सिटमा जित्ने ३७ प्रतिशत सम्भावना छ ।

यसअघि, सन् २०१५ को  निर्वाचनमा लिबरल पार्टी १ सय ८४ सिटसहित पहिलो भएको थियो । लिबरलले बहुमत ल्याएपछि युवा नेता जष्टिन ट्रयुडो प्रधानमन्त्री भएका थिए । त्यसअघिका दुई चुनावमा भने बहुमत प्राप्त गर्दै कन्जरवेटिभ पार्टीबाट स्टेफेन हार्पर झण्डै एक दशक प्रधानमन्त्री रहेका थिए ।
प्रकाशित मिति: : 2019-10-21 09:38:42

प्रतिकृया दिनुहोस्