महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वरुप परिवर्तन (मोडिफइड) गरी चर्को आवाज निकालेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ (जिकज्याक) गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले मोटरसाइकल नचलाउन आग्रह गरेको छ ।
विज्ञप्तिमा महाशाखाको आग्रहलाई अटेर गरी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिबाना गरिने स्पष्ट पारिएको छ ।
स्वरुप परिवर्तन गरिएका चर्को अवाजधारी बाइकमा रोयल इन्फिल्ड (बुलेट) बढी रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। साथै, अफरोड (डर्ट) बाइक र महँगो मूल्यका हेभी बाइक पनि चर्को आवाज निकालेर कुदाउने गर्छन्। अधिकांश बुलेट बाइक स्वरुप परिवर्तन गरी चर्को आवाजमा चलाउने गरेको ट्राफिक प्रहरी बताउँछन्। नेपालमा रोयल इन्फिल्ड बाइक ६ हजारको हाराहारीमा बिक्री भएका छन्।