राजश्व छलेर ल्याइएको चिनी नेपाली उद्योगको नाममा बिक्री गर्ने गिरोह पक्राउ

सांकेतिक तस्बिर

भारतबाट राजश्व छलेर ल्याइएको चिनी, नेपाली चिनी उद्योगको बोरामा प्याकिङ गरेर बजारमा बिक्री गर्ने धन्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ६ मा रहेको जय हनुमान ट्रेडर्स प्रालिका संचालक रमेश तिवारी र उनका साझेदार दिनेश पाण्डे छन् ।

उनीहरु दुवैजनालाई कलैयामै लुकीछिपि बसिरहेको अवस्थामा शनिबार बेलुकी साँझ पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

कलैया उपहानगरपालिका ६ स्थित मछरहट्टा टोलमा रहेको रामनारायण यादवको घरमा प्रहरीले गत असोज २४ गते छापा मार्दा भारतबाट तस्करी गरी ल्याइएको ३८ वटा बोरामा रहेको १७ क्वीन्टल चिनी बरामद भएको थियो ।

पाण्डे र तिवारीले यादवको घर भाडामा लिएर गोदाममा भण्डारण गरेर राखेको ३८ बोरा चिनीसहित प्रहरीले चिनीको बोरा सिलाउने मेसिन १ थान , बाराको रिलायन्स चिनी उद्योग र सर्लाहीको इन्दु शंकर चिनी उद्योगको नाम, ठेगाना, लोगो र ब्राण्ड छापिएको खाली बोरा २ सय थान बरामद गरेको थियो।

पक्राउ परेका दुवैजनालाई बरामद चिनीसहित राजश्व ऐनअनुसार आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको खनालले बताए ।

प्रकाशित मिति: : 2019-10-20 14:46:33

प्रतिकृया दिनुहोस्