नेपालबाट भारतको नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । उक्त दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्री घाइते भएको भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो ।
दुर्घटनामा नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घाइते भएका छन् । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ ।
घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ ।
ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।