गैरआवासीय नेपाली संघको नवौं अधिवेशन नयाँ कार्यकारी समतिको चयन गर्दै सकिएको छ । ८० भन्दा बढी देशमा फैलिएको यो संस्थाको सञ्जाल विश्वभर फैलँदो छ ।
करिब ७२ हजारको हाराहारीमा दर्ता भएका सदस्य रहेको यो संस्था आजका अवस्थामा आइपुग्दा यसको दायित्व र दायरा फराकिलो हुँदै गएको छ । आफ्नो पखेँटा संसारभर फैलाइरहँदा यस संस्थासामु अनेक चुनौतीका पहाड पनि चुलिँदै जान थालेको अनुभव गर्न सकिन्छ ।
मैले आशा गरेको थिएँ कि एनआरएनए संस्थाले आफ्नो नयाँ नेतृत्वका लागि चुनावी मैदानमा जाँदै गर्दा कमसेकम केही राम्रा दृष्टान्तहरू पेश गर्नेछ । मलाई लाग्थ्यो— अमेरिका, अस्ट्रेलियामा वा अन्य विकसित मुलुकमा हुने प्रतिष्पर्धीहरूको जस्तै एउटा स्वच्छ बहस र छलफल अध्यक्ष पदका प्रत्यासीले गर्नेछन् अनि त्यही छलफलका आधारमा मतदाताले आफ्नो नेतृत्व छान्नेछन् ।
त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीहरूले पनि आफ्ना एजेण्डा र विषयहरू स्वच्छ तरिकाले बहस गर्दै मतदातालाई आफ्नो कित्तामा पार्ने कोशिस गर्नेछन् । त्यो मेरो केवल दिवास्वप्न सावित भयो । त्यस चुनावी माहौलमा एजेण्डाहरूको छलफलभन्दा पनि आरोप र प्रत्यारोपको कर्कस ध्वनि मात्र सुनियो ।