अज्ञात समूहले तुर्माखाँद गाउँपालिकाको वडा ३, ४ र ५ मा नाकाबन्दी गरेको छ ।
बुधबार राती अज्ञात समूहले रुख ढालेर सदरमुकाम मंगलसेनबाट तुर्माखाँद गाउँपालिकाको केन्द्र रहेको तुर्माखाँद बजार हुँदै वडा ३, ४ र ५ सम्म जाने एकमात्र सडक अवरुद्ध गरेको स्थानीय पदम बहादुर बिसीले जानकारी दिए ।
उनका अनुसार उक्त समूहले सडक भत्काएका छन् भने तुर्माखाँद क्षेत्रमा जाने पानीको ट्यांकी र पाइप तोडफोड गरेर पानीको प्रवाहसमेत रोकेका छन् ।
तुर्माखाँदका स्थानीयवासीले भने केही दिनदेखि स्थानीय तहले संघीय सरकारका तर्फबाट पाउने रंगशालाका विषयमा विवाद भएकाले घटना शंकास्पद रहेको जनाएका छन् ।
उनीहरूले घटनामा कुनै अज्ञात समूह नभएर गाउँपालिकाका अध्यक्ष पुष्प शर्माको निर्देशनमा तोसी तथा धमालीका युवाहरूको एक समूहले गराएको आरोप लगाएका छन्। यद्यपि स्थानीयका आरोप उनीहरुले खण्डन गरेका छन् ।
घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्नको खोजीकार्य जारी राखेको जनाएको छ ।