‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री ट्रेल रेस’ को उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
पोखरामा पहिलो पटक आयोजना भएको रेस अन्तर्गत २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङमा एपिएएफ टिमले ४ घन्टा १७ मिनेट २२ सेकेण्डले उक्त दुरी पार गर्दै उपाधि हात पारेको हो।
एपिएफका तर्फबाट सन्तोष बिक्रम विष्ट, गणेश ठकुरी र ईन्द्रकला नेम्वाङ सहभागी थिए ।
त्यसै गरि प्रतियोगितामा नेपाल तर्फकै 'गुरिल्ला ट्रेल टिम'ले ४ घन्टा १८ मिनेट २३ सेकेण्डको समयमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेको छ।
उक्त टिमका तर्फ बाट दामोदर बुढा मगर, दुर्गा राज बुढा र रसिला तामाङले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा चीनको कुनमिङ शहरको काइनेटिक टिम तेस्रो भयो। ४ घन्टा २४ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै चिनियाँ टोली तेस्रो भएको हो।
चिनियाँ टिमबाट चेङ यि झेन, पाङ यूइजु र लाई यू जुन प्रतिष्पर्धामा थिए।
यस्तै नेपालको अन्नपूर्ण टिम चौथो हुँदै चीनको कुनमिङमा यही डिसेम्वरमा आयोजना हुने जिआओजि १०० किमी दौडमा सहभागिता जनाउने अवसर पायो।
आयोजकले नेपाली प्रथम, दोस्रो र तेस्रो हुनेलाई उक्त दौडमा सहभागिता गराउने जनाएका थिए। प्रतियोगितामा चौथो र नेपालबाट तेस्रो भएको अन्नपूर्ण टिमबाट जिवन लामा, समर राई र प्रतिभा श्रेष्ठ सहभागी थिए ।
यता व्यक्तिगत तर्फ चीनका झाङ जिले ३९ किलोमिटर दौड ३ घन्टा ३९ मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम भएका छन्।
यसै गरि चीनकै चाङ थियान फे दोस्रो स्थानमा रहे। उनले उक्त दुरी ३ घन्टा ५० मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए। यस्तै चीनकै झाओ गुआन वान तेस्रो स्थानमा रहे। उनले ४ घन्टा १ मिनेट १२ सेकेण्डमा दूरी पार गरेका थिए।
बाराही घाटबाट शुरु भएको दौड, राष्ट्रबैंक चोक, ड्यासमइड, डेभिडफल्स, तिवेतेन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टिखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखले डाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ (गौरी प्रावी), ढुङ्गेपानी, शान्तीस्तुपा पार्किङ, स्तुपा, अनदु डाँडा, लिची बोट हुँदै बोटिङ गरेर बाराही घाटमा पुगेर सकिएको थियो।
व्यक्तिगत तर्फको दौड शान्ति स्तुपामा सकिएको थियो।
प्रतियोगितामा १ सय ५ धावकहरुको सहभागिता रहेको थियो। जसमध्ये २५ टिम नेपालका थिए भने दुई टिम चीनका रहेका थिए।
पोखरा बाराही घाटमा दौड शुरु हुनुअघि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नर देवि पुनले यस प्रकारको प्रतियोगिताले दुई देश बिचको सम्बन्धलाई थप बलियो बनाउने बताइन्।
प्रतियोगिताका संयोजक विश्व शंकर पालिखेको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसी, आयोजक मध्येका पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी र चिनिया प्रतिनिधीले बोलेका थिए ।
पोखरामा पहिलो पटक आयोजना भएको यो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा भएको हो।