विमानस्थलमा तोडफोड गर्ने एनआरएनका प्रतिनिधिलाई ७५ हजार जरिवाना

फाइल तस्बिर

एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । उनलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए ।विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलेले थापालाई जरिवाना तिराइएको पुष्टि गरे ।

विभागका अनुसार थापासँगै आएकी उषाकिरण वरियालाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएको अधिकारहीहरुको भनाइ छ ।

घटनालगत्तै अध्यागमनका कर्मचारीले प्रहरी बोलाए र थापा पक्राउ परे । सीसीटिभी फुटेजमा थापाले मात्र सिसा फुटाएको देखिएकाले उनीमात्रै पक्राउ परेका थिए ।

प्रकाशित मिति: : 2019-10-16 13:08:46

प्रतिकृया दिनुहोस्