युरोकप छनोट २०२० अन्तर्गत इटालीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
बुधबार बिहान भएको समुह जे अन्तर्गतको खेलमा इटालीले लिएचटेनस्टेनलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल गरे भने फेडेरिको बेर्नार्डेसची, अलेस्सियो रोमाग्नोली र स्टेफेन शरावीले समान एक एक गोल गरे।
खेलको दोस्रो मिनेटमा नै बेर्नार्डेसचीको गोल मार्फत इटालीले अग्रता बनाएको थियो । उनको एक मात्रै गोलले पहिलो हाफ १–० मा सकिएको थियो । दास्रो हाफमा इटालीले थप चार गोल गर्यो ।
खेलको ७० औं मिनेटमा इटालीका लागि बेलोट्टीले गोल गर्दै अग्रता २–० बनाए । त्यसको सात मिनेटपछि नै रोमाग्नोलीले गोल गर्दै अग्रता ३–० बनाए । इटाली यतिमै रोकिएन खेलको ८२ औं मिनेटमा फेरि गोल गर्ये । यसपटक भने शरावीले गोल गर्दै अग्रता ४–० बनाए ।
खेलको ९२ औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गरे । उनको गोलसँगै खेल ५–० मा सकियो ।
युरोकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको इटालीको यो लगातार आठौं जित हो । इटालीले ८ खेलमा २४ अंक जोडेको छ । त्यस्तै लिएचटेनस्टेनको भने ८ खेलमा केवल २ अंक रहेको छ ।