नेयमार चार हप्ता मैदान बाहिर रहने

तस्बिरः एजेन्सी

आइतबार राति भएको ब्राजिल र नाइजेरियाबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका पेरिस सेन्ट जर्मन तथा ब्राजिलका स्टार खेलाडी नेयमार चार हप्ता मैदान बाहिर रहने भएका छन् ।

आइतबार राति भएको नाइजेरियासँग भएको खेलका क्रममा चोट व्येहोरेका नेयमारले १२ औं मिनेटमा मैदानबाट छाडेका थिए ।नेयमारको ‘मसल इन्जुरी’ भएको समाचारहरुमा बताइएको छ ।चोट बोकेका नेयमारले अक्टोबर २२ मा च्याम्पियन्स लिगमा क्लब ब्रुगिसविरुद्व हुने खेल गुमाउने पक्का भएको छ ।

स्टार खेलाडीले खेलको शुरुवातमै चोट बोकेपछि दबाबमा रहेको ब्राजिलका लागि नेयमारको स्थानमा फिलिपे कौटिन्हो मैदान प्रवेश गरेका थिए ।सिंगापुरको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले नाइजेरीयासँग १–१ बराबरी भएको थियो ।

खेलको ३५ औं मिनेटमा नै नाईजेरियाले रेन्जर्स जियो अरिबोको गोल मार्फत अग्रता लिएको थियो । पहिलो हाफ १–०ले पछाडी परेको ब्राजिलले खेलको ४८ औं मिनेटका क्यासमिरोले गोल फर्काए ।

गत मंगलबारमात्र ब्राजिलले सेनेगलसंग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति: : 2019-10-14 22:09:43

प्रतिकृया दिनुहोस्