पूर्व सांसद आलमलाई बिनासर्त रिहाईको माग गर्दै जुलुस

बिएल

पूर्व सांसद मोहम्मद आफताव आलमलाई रिहाईको माग गर्दै कांग्रेसले सोमबार चन्द्रनिगाहपुरमा जुलुस निकालेको छ । कांग्रेसले आफ्नो सांसदको बिनासर्त रिहाईको माग गर्दै जुलुस निकालेको हो ।

आफन्तको विवाहमा सहभागी हुन जाँदै गर्दा गौर राजमार्गस्थित इद्रिस गेटबाट प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरीको टोलीले सांसद आलमलाई आइतबार पक्राउ गरेको थियो ।

सांसद आलमलाई नियतवस पक्राउ गरेको भन्दै कांग्रेस कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका थिए । चोक परिक्रमा पछि चन्द्रनिगाहपुर पार्कमा केही कोणसभा गरेको थियो ।

आलम पक्राउको विरोधमा जिल्लाका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताले बिहानदेखि टायर बालेका थिए ।

विस्फोटमा परेका घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्री मोहम्मद आफताव आलम १२ वर्षअघिको घटनामा दोस्रो पटक आइतबार पक्राउ परेका हुन्।

राजनीतिक संरक्षणका आधारमा ‘मुद्दा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएकोसमेत झन्डै साढे सात वर्षपछि उनलाई प्रहरीले पक्रेको हो ।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट–२ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । राजपुरफरहदवाको वडा ४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए ।

‘घटना सार्वजनिक हुने डरले आलमले सहयोगीसँग मिली बम विस्फोटका घाइतेलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाए,’ प्रत्यक्षदर्शीले बयानमा भनेका छन् । मिसिलअनुसार स्थानीय व्यक्ति र घटनाका प्रत्यक्षदर्शीले ‘आगोमा हाली जलाएर आततायी किसिमबाट कर्तव्य गरी हत्या गरेको’ बताएका थिए । आलमकै कारिन्दा शेख भदैईले नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घर लगेका थिए ।

अरू युवा पनि त्यसरी नैबोलाइएका थिए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निवेदक नारायणसिंह र विपक्षी महान्यायाधिवक्ताको कार्यालयसमेत भएको २०६५ सालको ३८ नम्बरको उत्प्रेषण रिट निवेदनमा २०६९ जेठ १६ मा भएको आदेश कार्यान्वयन भयो भएन भनी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको थियो ।

प्रहरी प्रधान कार्यालयबाट समेत छानबिनका लागि पत्र आएपछि जिल्ला प्रहरीले टोली गठन गरी पुनः छानबिन थालेको थियो ।आलमलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: : 2019-10-14 17:06:19

प्रतिकृया दिनुहोस्