कञ्चनपुरमा हात्तीको बथानले सखाप पार्‍यो धानबाली

फाइल तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जंगली हात्तीको बथानले गएराति ५ बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पुर्‍याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन्। पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को संख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताए।

साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभरि जाग्राम बस्नुपरेको उनले बताए। २५ जनाभन्दा बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ। वडाध्यक्षा महराले भने, 'गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ।'

हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ। दुई साताअघि पनि जंगली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी ७ बिघाभन्दा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो।

प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्रो मच्चाउँदै आएको छ। स्थानीय किसानले धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन्। रासस

प्रकाशित मिति: : 2019-10-14 12:44:36

प्रतिकृया दिनुहोस्